घरेलु टिमलाई ट्रयाकसुट सहयोग
हेटौंडा, २१ पुस/सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकपमा सहभागिता जनाएको घरेलु टिम प्राइम पोलिक्लिनिक विजय यूथ क्लवलाई हेटौंडा–९ घर भै हाल बेलायत बस्दै आएका जयकृष्ण तामाङले करिब ७५ हजार रुपियाँ बराबरको २४ थान ट्रयाकसुट सहयोग गरेका छन् ।
बिहीबार प्रतियोगिता आयोजनास्थल फरेष्ट्री मैदानमा एक कार्यक्रमकाबीच तामाङले विजय यूथका प्रशिक्षक सुवीन घिमिरे, क्याप्टेन ध्रुब श्रेष्ठलगायतलाई ट्रयाकसुट हस्तान्तरण गरेका हुन् । हेटौंडामा सञ्चालन भैरहेको गोल्डकप र घरेलु टिमको बिषयमा मकवानपुर जिल्ला फुटबल संघका सदस्य नारायण श्रेष्ठले तामाङलाई जानकारी गराएपछि उनले सहयोगको इच्छा देखाएका हुन् । आफ्नो जन्मथलो मकवानपुरको फुटबल टिमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै तामाङले आवश्यक पर्दा आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिंदै जाने बताए । सहयोगले घरेलु टिमलाई थप हौसला मिलेको प्रतिक्रिया दिंदै विजय यूथका प्रशिक्षक घिमिरेले खेल क्षेत्रमा यस्ता सहयोगी हातको बृद्धि हुनुपर्ने बताए ।
विजय यूथले आज शुक्रबार नेपाल आर्मीसंग सेमीफाइनल भिडन्त गर्दैछ ।
