विमानस्थल निर्माणको लागि पदमपोखरीमा सम्भाव्यता अध्ययन
हेटौंडा, १३ माघ/हेटौंडा उपमहानगपालिका १४ पदमपोखरीमा विमानस्थल निर्माणको लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको पहलमा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन सुरु भएको हो ।
नागरिक उड्डयन प्राधिकरणको एक टोलीले बिहिबार पदमपोखरीमा स्थलगत अवलोकन गरेको छ । मकवानपुरको मौसम एयरपोर्टको लागि सुहाउँदो भएको बताउँदै राज्यमन्त्री बानियाँले मकवानपुरमा एयरपोर्ट आवश्यक रहेको बताए । जाडो मौसममा पनि खासै धेरै हुस्सु नलाग्ने भन्दै उनले बैकल्पिक एयरपोर्टको लागि पनि यहाँ एयरपोर्ट बन्नु आवश्यक रहेको बताए ।
तराईका जिल्लाहरुमा मौसमको गड्बडीले उडान भर्न समस्या पर्ने गरेको बताउँदै बानियाँले पदमपोखरीमा बन्ने एयरपोर्टमा मौसमले साथ दिने धारणा राखे । स्थानीयबासी तथा राजनीतिक दलको साथ र सहयोगबाट मात्र काम सम्पन्न गर्न सम्भव रहेको बानियाँको भनाई थियो ।
पदमपोखरीमा एयरपोर्ट निर्माण गर्दा धेरै विनाश पनि नहुने भएकाले जति स्थानमा वन मासिन्छ त्यति स्थानमा अर्को ठाउँमा वृक्षारोपण गरिने राज्यमन्त्री बानियाँले आश्वासन दिए । सम्भाव्यता अध्ययनका लागि आएको नागरिक उड्डयन प्राधिकरणको टोलीले पदमपोखरी एयरपोर्ट निर्माणको लागि भौगोलिक दृष्टिकोणले उपयुक्त रहेको बताएको छ ।
प्राधिकरणका ईन्जिनियर ध्रुव गछुवहाले एयरपोर्टमा १ दशमलव ५ किलोमिटरको रन–वे र २ हजार ५ सय मिटर चौडाई रहने बताए । उत्तर दक्षिण रन–वे निर्माण गर्दा भैरवडाडाँले असर पार्ने हुनाले पूर्व पश्चिम रन–वे निर्माण गर्नुपर्ने उनले जानकारी दिए । एयरपोर्ट निर्माणका लागि ७५ करोड देखि १ अर्व रुपियाँसम्म खर्च लाग्ने सम्भाव्यता अध्ययन टोलीले जनाएको छ । स्थलगत अध्ययनपछि स्थानयीसंग भएको छलफलमा स्थानीय बासिन्दाले एयरपोर्ट निर्माणका लागि सहयोग गर्न तयार रहेको धारण राखे ।
छलफलमा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य तथा नायब महाप्रवन्धक राजकुमार क्षेत्रीले एयरपोर्ट सम्भाव्यताको जानकारी गराएका थिए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, स्थानीय विकास अधिकारी नारायण मैनाली, जिल्ला प्रहरी कार्याmय प्रमुख बसन्तकुमार लामालगायतको आतिथ्यता रहेको थियो ।

