Header Ads


ओझेलमा प्लास्टिक झोला न्यूनीकरण गर्ने योजना

हेटौंडा, ४ फागुन/हेटौंडा उपमहानगरपालिका क्षेत्रमा गत मंसिरदेखि प्लास्टिकको झोला प्रयोगमा न्यूनीकरण गर्ने निर्णय गरिएपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । 
मन्त्रालयको निर्देशन अनुसार हेटौंडामा प्लास्टिकको झोला प्रयोगमा न्यूनीकरण गर्दै विस्तारै प्रतिबन्द लगाउने उद्देश्य अनुरुप निर्देशन आएपछि नगरपालिका कार्यालयले नगरपालिकाकै प्रबन्धक बीके महर्जनको नेतृत्वमा कार्यदल समेत गठन गरेको थियो । कार्यदलले विभिन्न वस्तुगत समितिसंग केही छलफल एवम् अन्तरक्रिया गरेपनि अहिले प्लास्टिकको झोला न्यूनीकरणको बिषय ओझेलमा परेको छ । 
‘मन्त्रालयकै निर्देशन अनुरुप हामीले कार्यदल पनि निर्माण गरेका थियौं, वस्तुगत समितिसंग एक चरण छलफल पनि गरेका हौं । माछामासु व्यवसायी बाहेक अरु सबै समिति प्लास्टिकको झोला प्रयोग नगर्ने बिषयमा सहमत पनि भएका हुन्’, कार्यदलका संयोजक समेत रहेका हेटौंडा उपमहानगरपालिका कार्यालयका प्रबन्धक बीके महर्जनले भने, ‘यसको लागि मकवानपुर उद्योग वाणिज्य संघले आवश्यक पहल एवम् समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यसका लागि संघबाट प्रतिबद्धता पनि आएकै हो, तर अहिले सडक विस्तारको बिषयले गर्दा यो छायाँमा परेको छ ।’ कार्यदलले मंसिरबाट प्लास्टिकको झोला प्रतिबन्द गर्न नसकेपनि माघ महिनाबाट गर्ने योजना बनाएको थियो । 
‘मंसिर सम्मको तार्गेट थियो सकिएन, माघबाट प्लास्टिक झोलामुक्त बनाउन सकिन्छ कि भनेको त्यो पनि भएन’, महर्जनले थपे, ‘सायद यो बर्ष यत्तिकै बित्छ होला, २५ मिटरको बिषय अलि सेलाएपछि हामी यस बिषयलाई फेरि अघि बढाउनेछौं ।’ माछामासु व्यवसायी बाहेक अन्य व्यवसायीहरु प्लास्टिकको झोला प्रयोग नगर्न सहमत भएको बताउँदै उनले आम सर्वसाधारणलाई प्लास्ष्टिकको झोला प्रयोग नगर्न अनुरोध गरे । 
‘प्लास्टिकको झोला मानव स्वास्थ्यको लागि हानिकारक छ । यसको सट्टा हामीले पुन ः प्रयोगमा ल्याउन मिल्ने अन्य झोलाहरु प्रयोग गर्न सक्छौं’, महर्जनले थपे, ‘केही महिनाभित्रै हामी हेटौंडामा प्लास्टिकको झोला प्रयोगमा न्यूनीकरण गर्दैछौं, यस कार्यमा सहयोग गर्नुहुन आम हेटौंडाबासीलाई अनुरोध समेत गर्न चाहन्छु ।’
Powered by Blogger.