Header Ads


स्ववियु निर्वाचनमा व्यस्त बिद्यार्थी संगठन

हेटौंडा, ४ फागुन/८ बर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको लागि मकवानपुरमा क्रियाशील राजनीतिक दल निकटको बिद्यार्थी संगठनहरु आ–आफ्नो पक्षमा माहौल तयार पार्न लागिपरेका छन् । 
यही फागनु १४ गते देशैभर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । मकवानपुरका ५ वटा क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने छाँट देखिएको छ । जिल्लाकै ठूलो क्याम्पसको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, बंशगोपाल बहुमुखी क्याम्पस र पालुङ् बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुने करिब पक्का भएको छ । अन्य क्याम्पसमा भन्दा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु चुनावले बढी छोएको देखिन्छ । 
बिहानदेखि बेलुका सम्मै बिद्यार्थी संगठनका नेताहरु बिद्यार्थी भेट्न र आफ्नो संगठनको लागि भोट माग्नमा व्यस्त देखिने गरेका छन् । जिल्लाको ५ वटै क्याम्पसमा निर्वाचन गराउन निर्वाचन कमिटी गठन, संगठन दर्ता, मतदाता नामावली सार्वजनिक एवम् अन्य तयारीहरुमा क्याम्पसहरु जुटेका छन् । मकवानपुर बुहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको तयारी सुरु भइसकेको निर्वाचन अधिकृत उदयनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार मकवानपुर क्याम्पसमा ७ वटा संगठनले चुनावको लागि आफ्नो संगठनको नाम दर्ता गराएका छन् । मकवानपुर क्याम्पसमा करिब २ हजार २ सय जना मतदाता विद्यार्थी रहेका छन् । जिल्लाका राजनीतिक दलका नेताहरुले समेत आँखा गाडेको र स्ववियु निर्वाचन जित्नको लागि रणनीति बनाइरहेको मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु, नेवि संघ, नयाँ शक्ति बिद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसं), अखिल क्रान्तिकारी, अखिल पाँचौं र अखिल छैठौंले संगठन दर्ता गराएका छन् । पालुङ क्याम्पसमा ६ वटा विद्यार्थी संगठनले दर्ता गराएका छन् । यता ५ सय ३० जना मतदाता बिद्यार्थी रहेको हेटौंडा क्याम्पसमा ६ वटा विद्यार्थी संगठनले चुनावी प्रक्रियामा भाग लिने बुझिएको छ । यस्तै ३ सय १४ जना मतदाता विद्यार्थी रहेको वन विज्ञान अध्ययन संस्थानमा ४ वटा बिद्यार्थी संगठनले निर्वाचनमा सहभागिता जनाउने बुझिएको छ । 
त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने, ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबीन गरी अन्तिम नामावली प्रकाशित गर्ने, ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
Powered by Blogger.