कालिकाटार र पाष्टर एशोसियशन विजयी
हेटौंडा, ४ फागुन/मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगितामा कालिकाटार युवा क्लव र पाष्टर एशोसियशन मनहरी विजयी भएको छ ।
बुधबार भएको पहिलो खेलमा लेले युवा क्लव सरिखेत र कालिका युथ क्लवबीच भएको प्रतिस्पर्धामा ९० मिनेटसम्म कुनै टिमले पनि गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा कालिकाटार युवा क्लवले ४ गोल गर्न सफल भयो भने लेले युवा क्लव १ गोलमै चित्त बुझाउन बाध्य भयो । त्यसैगरी दोश्रो खेलमा पाष्टर एशोसिशन मनहरीले कालिका युथ क्लव सरिखेतलाई २–० को गोलअन्तरले पराजित गरेको छ ।
आज बिहीबारको पहिलो क्वाटरफाइनल खेल दिल्लीपुर युवा क्लव हाँडीखोला र सयपत्री युवा क्लव सुनाचुरीबीच हुनेछ भने दोश्रो क्वाटरफाइनल खेल द स्टार युवा क्लव राक्सीराङ र ताम्सालिङ युवा क्लव कालिकाटारबीच हुने प्रतियोगिता संयोजक बीरेन्द्र जिम्माले जानकारी दिए।
मकवानपुरको ४ नम्बर क्षेत्रका १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रो हुने टिमले नगद १५ हजारसहित सिल्ड र प्रमाणपत्र पाउने प्रतियोगिता फागुन ७ गतेसम्म संचालन हुने संयोजक जिम्माले जानकारी दिए ।

