अफिसर्स क्लबले हरायो मउवा संघलाई
हेटौंडा, १४ फागुन/मकवानपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको पूर्वसन्धयामा आयोजना भएको मैत्रीपूर्ण फुटसलमा संघको टोलीलाई अफिसर्स क्लवले हराएको छ ।
यही फागुन २१ गते हुन लागेको स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारणसभाको अवसरमा भएको फुटसलमा अफिसर्स क्लवको टोली ११–८ गोल अन्तरले विजयी भएको हो । मउवा संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको खेलमा विजयी समूहलाई स्वर्ण महोत्सव मूल समारोहका संयोजक उत्तम शर्मा ढकालले स्वर्ण महोत्सव अंकित मायाको चिनो वितरण गरेका थिए ।
खेलकुद विकास समितिका अध्यक्ष तिमल्सिनाले रेफ्री सुबीन घिमिरेलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । खेलमा सर्वाधिक गोलकर्तामा अफिसर्स क्लबका खेलाडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले ७ र संघका तर्फबाट सन्तोष अर्यालले ३ गोल गरेका थिए । मैत्रीपूर्ण खेलले एकआपसमा भाईचाराको विकास हुनुका साथै स्वास्थ्यका लागि समेत फाईदा पुग्ने उद्देश्य लिइएको बताइएको थियो ।
संघका महासचिव महेन्द्र राउतका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संघले आइतबार हेटौंडाको बुद्धचोकमा रक्तदान गर्ने भएको छ । मैत्रीपूर्ण फुटसल खेलको संयोजकत्व स्वर्ण महोत्सव खेल उपसमितिका संयोजक छतेन्द्र आचार्य रहेका थिए ।

