Header Ads


सामुदायिक बिद्यालयमा ई–लाइब्रेरी स्थापना हुँदै

हेटौंडा, १४ फागुन/यहाँका सामुदायिक बिद्यालयहरुमा बिद्युतीय पुस्तकालय स्थापना हुने भएको छ । 
शनिबार हेटौंडामा अभिमुखीकरण गरी यस बिषयमा जानकारी गराइएको हो । नेपाल लाइब्रेरी फाउण्डेसनको आयोजना तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा मकवानपुरका सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीसंग बिद्युतीय पुस्तकालयको महत्व र बिशेषताको बिषयमा जानकारी गराइएको हो । यहाँका ५ वटा बिद्यालयमा केही दिनमा नै बिद्युतीय पुस्तकालय सञ्चालन गर्ने योजना रहेको लाइब्रेरी फाउण्डेसनका प्रतिनिधीले जानकारी दिएका छन् । 
फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठका अनुसार बिद्युतीय पुस्तकालय राख्न चाहने बिद्यालयमा आवश्यक पूर्वाधारको रुपमा केहीथान कम्प्यूटर हुनुपर्ने छ । उक्त कम्प्यूटरमा दशौं हजार पुस्तक एवम् श्रब्यदृश्य सामग्रीसहितको सफ्टवेयर ई–लाइब्रेरी फाउण्डेसनले राखिदिने उनले जानकारी दिए । ‘हामीले निशुल्क रुपमा सफ्टवेयर उपलब्ध गराइदिनेछौं । सुरुवातीमा यहाँका ५ बिद्यालयमा सफ्टवेयर जडान गरिनेछ’, ई–लाइब्रेरी फाउण्डेसनका अध्यक्ष कपिलदेव थापाले भने, ‘यहाँका सबै बिद्यालयले क्रमबद्ध रुपमा इ–लाइब्रेरी जडानको लागि तयार रहेको बताएका छन् । 
जिल्ला शिक्षा कार्यालयसंगको समन्वयमा सबै बिद्यालयमा ई–लाइब्रेरी विकास गर्ने लक्ष्य रहेको छ ।’ नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद् महालक्ष्मी उपाध्याय डीनाको विशेष पहलमा मकवानपुरमा ई–लाइब्रेरीको योजना ल्याइएको बताइएको छ । 
नेपाल भारतमैत्री बहुप्राविधिक महाबिद्यालयका अध्यक्ष दिनेश उपाध्यायको प्रमुख आतिथ्यता एवम् दिव्यतारा सहकारीका उपाध्यक्ष डा। गणेश बल लामाको अध्यक्षतामा भएको अभिमुखीकरणमा ई–लाइब्रेरी फाउण्डेसनका पुष्तकालय शाखा प्रमुख बसन्तकृष्ण श्रेष्ठ, सदस्य रमेशकुमार भुषाललगायतले इ–लाइब्रेरीको महत्व र बिशेषताको बिषयमा जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी उपाध्यायले पुरानै ढाँचा एवम् शैलीमा यहाँका सामुदायिक बिद्यालयहरुमा पढाईं हुँदै आएकोले अब इ–लाइब्रेरी मार्फत पठनपाठन सुरु हुनु आवश्यक रहेकोमा जोड दिए । ई–लाइब्रेरीको लागि नेटको आवश्यक नपर्ने, अफलाइन सर्भिसका साथै सभ्यदृश्य सामग्री हुने हुँदा बढी ज्ञान हाँसिल गर्न सकिने बताइएको छ । अभिमुखीकरणमा लायन्स क्लव अफ हेटौंडा सिटी र लायन्स क्लव अफ हेटौंडा भूटनदेवी सहयोगी संस्थाको रुपमा रहेको थियो । 
Powered by Blogger.