Header Ads


एमालेको अभियान हेटौंडाबाट फेरि सुरु हुने

हेटौंडा, २५ फागुन/सप्तरीमा भएको घटनापश्चात ३ दिनका लागि स्थगित भएको नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान हेटौंडाबाट सुरु हुने भएको छ ।
 एमाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले भोली २७ गते शुक्रबार हेटौंडाबाट अभियान सुरु गर्ने निर्णय गरेको हो । अभियानमा सक्रियतापूर्वक क्रियाशील हुन, जनसहभागिता जुटाउन र मेची–महाकाली यात्रामा आ–आफ्ना सवारी साधनसहित उपस्थित हुन मातहतका कमिटी र सदस्यहरुलाई निर्देशन दिइएको छ ।
सप्तरीमा भएको कार्यक्रममा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीको बीचमा भिडन्त हुँदा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएपछि एमालेले ३ दिनको लागि स्थगित गरेको अभियान हेटौंडाबाट सुरु हुने भएको हो । हेटौंडामा हुने कार्यक्रममा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहित बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिइन् ।
पार्टीले हेटौंडामा हुने कार्यक्रमको तयारीका साथै प्रचारप्रसारलाई तीव्रता दिएको छ । अभियानको लागि एमाले मकवानपुरले वडा वडामा पुगेर घरदैलो कार्यक्रम गरेको छ । सप्तरीमा भएको घटनालाई मध्यनजर गर्दै एमाले मकवानपुरले हेटौंडामा हुने कार्यक्रमको लागि कडा सुरक्षा व्यवस्था गर्ने तयारी गरेको छ । यसका लागि सुरक्षा निकायलाई अनुरोध गरेको छ भने सोही अनुरुप युवा परिचालन हुने बताइएको छ ।
एमाले महासचिव पोखरेलको अध्यक्षतामा बसेको बैठकले मधेसी मोर्चाका कार्यकर्ताहरूले एमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको भन्दै भत्सर्ना गरेको छ ।
एमाले नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरु भएको उल्लेख गर्दै यस्तो कार्य रोक्न चेतावनी समेत एमालेले दिएको छ । त्यस्तै एमाले नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन एमालेले सरकारसंग माग गरेको छ ।
Powered by Blogger.