‘जिल्लाको विकासको लागि काँग्रेसले जित्नुपर्ने’
१ नम्बरलाई नमूना वडा बनाउने न्यौपानेको उद्घोष
हेटौंडा, २० बैशाख÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् महालक्ष्मी उपाध्याय ‘डीना’ले मकवानपुर जिल्लाको विकासका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक रहेको बताएकी छिन् ।
काँग्रेस हेटौंडा–१ नम्बर वडाको आयोजनामा बुधबार चौकीटोलमा भएको चुनावी प्रचारप्रसारमा उनले स्थानीय चुनाव काँग्रेसले जितेमा मकवानपुरमा विकास र समृद्धिको लहर छाउने दावी गरिन् । ‘काँग्रेसले जितेमा विकास र रोजगारीको मुल फुट्नेछ’ पूर्व जलस्रोत राज्यमन्त्री समेत रहेकी डीनाले भनिन्, ‘राप्तीखोलामा तटबन्धनका लागि मैले मेरो तर्फबाट आवश्यक पहल गरिरहेको छु ।’
मकवानपुरमा पटकपटक कम्युनिष्टहरुले जित्दा पनि हेटौंडा–१ नम्बर क्षेत्रको विकास नभएको आरोप लगाउँदै उनले काँग्रेसले जितेपछि आमुल परिवर्तन हुने दावी गरिन् । काँग्रेसको हेटौंडा उपमहानगर सभापति एवम् मेयर पदका उम्मेदवार आनन्दराम पराजुलीले २० वर्ष अगाडि भएको स्थानीय निकायको निर्वाचनमा एमाले विजयी हुँदा बजार क्षेत्रमा अशोकको रुख रोप्ने काम बाहेक अरु केही नभएको अरोप लगाए ।
‘यसअघि उपमेयर रहेका हरिबोल महतलाई एमालेले मेयरमा उठाएको छ’, पराजुलीले भने, ‘यसअघि उपमेयर पदमा रहँदा मकवानपुरको विकासको निम्ति के काम गर्नुभो रु भनेर प्रश्न गर्नुहोला ।’ यस्तै काँग्रेसको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयर पदका उम्मेदवार लक्ष्मी श्रेष्ठले कम्युनिष्टहरुले चुनाव जित्दा मकवानपुरमा विकास नभएको भन्दै बैशाख ३१ गते हुने स्थानीय चुनावमा नेपाली काँग्रेसलाई विजय गराउन आग्रह गरिन् ।
काँग्रेसको तर्फबाट हेटौंडा–१ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार सविन न्यौपानेले आफ्नो वडालाई नमूना वडाको रुपमा विकास गर्ने उद्घोष गरे । काँग्रेस १ नम्बर वडा सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस १ नम्वर वडाका सदस्य पदका उम्मेदवारहरु जंगबहादुर बस्नेत, लवा· लामा, सरस्वती श्रेष्ठ, सविता सुनार रसाइलीले मकवानपुर विकासको निम्ति नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न आग्रह गरे ।

