Header Ads


प्रेस स्वतन्त्रता दिवसमा पत्रकारको छलफल

हेटौंडा, २० बैशाख/नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरुले पत्रकारहरुले पाएको स्वतन्त्रतालाई उद्दण्डतामा परिवर्तन नगराउन अनुरोध गरेका छन् । 
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा बुधबार हेटौंडामा भएको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रममा पूर्व अध्यक्षहरुले लामो समयको आन्दोलन र योगदानपछि पाएको स्वतन्त्रतालाई सही तवरले प्रयोग गर्न अनुरोध गरेका हुन् । महासंघ पूर्व अध्यक्ष नवराज शर्माले पत्रकारको आचारण शुद्ध हुनुपर्ने बताए । 
स्थानीय तहको निर्वाचनपश्चात बन्ने नयाँ संरचना अनुसार पत्रकार महासंघको भूमिका एवम् काम, कर्तव्य समेत फरक हुने भएकोले यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । यस्तै पत्रकार महासंघका अर्का पूर्व अध्यक्ष कौशल पाण्डेले मुलुकको विकाससंगै पत्रकारको भूमिका समेत परिवर्तन हुँदै जाने भएकोले स्वतन्त्रताको बिषय समेत समय सापेक्ष हुनुपर्ने बताए । अर्का पूर्व अध्यक्ष राममणि दाहालले प्रेस स्वतन्त्रता र सूचनाको हकको बिषयमा स्थानीय तहको निर्वाचनबाट आउने जनप्रतिनिधीलाई समेत जानकारी गराउनुपर्ने धारणा राखे । पत्रकारहरुले आचारसंहिताको पालना गर्ने हो भने खासै समस्या खेप्नु नपर्ने दाहालको भनाई थियो । यस्तै अर्का पूर्व अध्यक्ष भानुभक्त आचार्यले विगतमा भन्दा अहिले प्रेस स्वतन्त्रताको अवस्था सुदृढ रहेको धारणा राखे । 
प्रेस स्वतन्त्रताको लागि योगदान पु¥याएकाहरुको सम्मान आवश्यक रहेको उनको भनाई थियो । पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान एवम् छलफल कार्यक्रममा पत्रकार महासंघ मकवानपुर सल्लाहकार नानीमैया बिष्ट, प्रेस सेन्टरका ३ नम्बर प्रदेश अध्यक्ष सुनिल खड्का, प्रेस युनियन मकवानपुर अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारी अध्यक्ष प्रकाश दाहाल, प्रेस सोसाइटी मकवानपुर सहसंयोजक केशव समर्पण सुवेदीलगायतले स्थानीय तहको निर्वाचनको समयमा पत्रकारहरु बढी जिम्मेवार हुनुपर्ने औंल्याउँदै पत्रकारले पाएको स्वतन्त्रतालाई उद्दण्डतामा परिवर्तन गर्न नहुने सुझाव दिएका हुन् । विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकार महासंघ र पत्रकार संग सम्बन्धित विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
Powered by Blogger.