Header Ads


जनतामाझ झुटा आश्वासन नबाढौँ

बैशाख ३१ गतेका लागि तोकिएको  स्थानीय तहको निर्वाचन जनताको घरआँगनमा आइसकेको छ । निर्वाचनको तयारी सबै क्षेत्रबाट व्यापक रुपमा भईरहेको छ ।  निर्वाचनको तयारीमा लागेका राजनीतिक दलहरु पनि चुनावी प्रचारप्रसार र घरदैलोमा व्यस्त देखिन्छन् । 
जनताहरुसँग प्रत्यक्ष भेटघाटमा रहेका राजनीतिक दलका प्रतिनिधिहरु जनतामाझ विकासको लहर ल्याउने घोषणापत्र बोकेर जनताहरुलाई आफूतर्फ आर्कर्षित गर्न खोजिरहेका छन् । निर्वाचनमा राजनीतिक दलहरुले जनता माझ दिएको घोषण पत्र दिवा सपना जस्तो भएको छ । चुनावअघि गरिएका प्रतिबद्धताहरु चुनाव सकिएपछी त्यतिकै सेलाएर जाने हो कि भन्ने चिन्ता जनतामा रहेको छ । जनताहरुलाई विश्वस्त पार्ने प्रतिबद्धताहरु राजनीतिक दलहरुले दिन सकेका छैनन् । चुनावको बेलामा मात्र जनताको घरदैलोमा जाने र झुटा घोषणापत्र र प्रतिबद्धता व्यक्त गर्नेहरुलाई जनताहरुले राम्रसँग चिनिसकेका छन् । यस भन्दा अघिको संसदीय निर्वाचनले पनि यस कुरालाई पुष्टी गर्दछ । देश चुनावले तातेको छ ।  लामो समयको रोदनपछि आशाका किरण पलाएको भान नेपाली जनतामा छ । युवा पुस्ताको पनि यस निर्वाचनमा उल्लेख्य सहभागितारहेको पाउन सकिन्छ । चुनावी माहोलसँगै सेवा र जिम्मेवारी बाँडफाँड गर्ने उद्देश्यले सम्पूर्ण जनताका हक र अधिकारको सुनिश्चित गर्न र समृद्ध बनाउने मूल आधारशीला स्थानीय निर्वाचनले जनतामा आशा जागृत गराएको छ । हाम्रलाई होइन राम्रोलाई रोजौँ भन्ने खालको नाराहरु जन्मिरहेका छन् । सस्तो लोकप्रियता बाढ्ने जनप्रतिनिधिहरुलाई जनताहरुले नपत्याउने अवस्था आएको छ । भ्रष्टाचार नियन्त्रण गर्दै गाउँको विकास गर्नसक्ने प्रतिनिधमात्र अहिले जनताको चाहाना हो, न की जनतामाझ भुटा आश्वासन दिने व्यक्ति । तसर्थ जनताहरु पनि सचेत भईसकेका छन् । उम्मेदवारहरुले पनि बुझ्नु पर्ने अवस्था आएको छ । पुरानै शैलीले झुटा प्रतिबद्धता बाडेर जनताहरु झुकिने छैनन् भन्ने हेक्का राजनीतिक दलहरुले राख्नुपर्ने अवस्था छ ।  
वातावरण चुनावमय हुँदा कसले कुन परिणाम ल्याउला भन्ने प्राक्कल्पनामा चोक, गल्ली, चिया क्याफे, सडक, सदन सबै लागिपरेको छ । निर्वाचन तयारीका क्रममा सरकारले  मतदाता नामावली प्रकाशन, मतपेटिका निर्माण र मतपत्र छपाइ, मतदाता शिक्षा कार्यक्रम, स्थानीय निर्वाचन अधिकृतको कार्यालय स्थापनाजस्ता कार्य गरिसकेको छ ।  निर्वाचन सुसभ्य, भयरहित, दबाबरहित वातावरणमा सम्पन्न गर्नु चुनौती पनि सरकार सामु रहेको छ । निर्वाचन नजिकिँदै गर्दा  धेरै समयको अन्तरालमा हुन लागेको निर्वाचनको आशा र निर्वाचन व्यवस्थित तवरले सम्पन्न गर्ने चुनौती पनि सरकार समक्ष रहेको छ ।  तर राजनीतिक दलहरुले  आपूmलाई राम्रो हो भन्ने भावलाई विश्वस्त पार्न  पुरानो सोच र घोषणापत्रमा सीमित रहने काल्पनिक योजनाभन्दा बौद्धिक वर्गसँग बसेर सम्भव हुने खालका विकासका सम्भावनालाई जनसमक्ष सप्रमाण उभिनुमा बुद्धिमानी हुने थियो ।  यहाँ घोषणापत्र कनीकुथी कोरिन्छन्, त्यसकै आडमा भाषण छाँटिन्छन् । 
आखिर विकास र परिवर्तन जनताका जागरणबाट या त विदेशी दातृनिकायबाट हुन्छन् । चुनाव आएपछि जनतालाई ठूलो आशा जाग्छ । अन्ततः उही भ्रष्टाचार र शक्तितन्त्रको जालोमा सोझा जनताहरू पिल्सिरहन्छन् । 
Powered by Blogger.