Header Ads


यो अस्तव्यस्तता कहिले सम्म

भर्खरै पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भयो । जन प्रतिनिधिहरुले सपथ ग्रहण गरेर कार्यभार सम्हालेका छन । कार्यभार सम्हाले पश्चात जनतासंग बाचा गरे अनुसारको बिकासको कामलाई झल्को दिन होला हेटौडा नगर भित्रका बिग्रेका र भत्केका सडकहरुमा ग्राभेल खसाल्न थालिएको छ ।
पंक्तिकारको निजि बासस्थान पनि हेटौडा नगर भित्र पर्ने भएकोले हेटौडा नगर भित्रका सबै बाटोहरुसंग परिचित नहुने कुरै भएन । यो पालि बर्षा निरन्तर रुपमा भईरहेको छ । बर्षाको कारणले गर्दा बाटोको किनारामा पानी बग्नु स्वभाविकै हो । भारी बर्षाको कारणले गर्दा बाटो भत्केको देखिनु कुनै नयाँ र नौलो कुरोपनि भएन किनभने बाटो पिच गर्नु भन्दा पहिला दायाँबायाँ पानी बग्नेगरी बनाई दिएको भए सायद बाटो नबिग्रन पनि सक्थ्यो होला ।
बिग्रेको बाटोहरुको ठाउँ ठाउँमा ग्राबेल झारिएको छ तर डोजर लगाएर सम्याउने काम गरिएको छैन । सायद कुनै दिन फुर्सद मिलाएर सम्याउलान । बटुवा देखि यात्रुले सास्ती अनि सवारी मालिकले ब्यहोर्नु पर्ने घाटा सम्बन्धमा सोच्ने फुर्सद कसलाई पो छ र ।
अस्ति चुनाव प्रचारमा हाम्रा नगरपिता देखि विजय पदाधिकारी हुन वा पराजय व्यहोरेकाहरु हुन सबैले हेटौडा नगर भित्रका सडकहरुको दुर्दशा देखेका छन् । त्यसै मध्ये अहिले अत्याधिक मात्रामा चल्तीमा रहेको भैरब रोडबाट गर्दोई निस्केर कमाने निस्कने सडकको प्रयोग गरेर चुनावमा भोट माग्दै पनि हिँडेका थिए होलान ।
उक्त सडक भएर भारि सवारी हिँड्नु जायज होला वा नहोला त्यो सम्बन्धितहरुलाई नै थाहा होला तर गर्दोईको ओरालो अनि सडक किनारामा घर बनाएर बस्नेहरुले तला थप्नको लागि होस् वा नयाँ निर्माणको लागी सडकको आधा बाटो ढाकेर झारिएको ईंटाले सवारी हाक्ने सवारी चालक देखि पैदल हिडने बटुवाहरुले के कति सास्ती ब्यहोर्नु परेको छ भोग्नेहरूलाई पक्कै पनि थाहा होला ।
पंक्तिकार उक्त सडकलाई दिनको कम्तिमा पनि चार पटक ओहोरदोहोर गर्न बाध्य छ । राजधानी काठमाण्डौको झल्को दिने गरि दिनहु पर्ने जाममा सास्ती ब्यहोर्नु परेको भएर नै आज यो लेख पस्किन बाध्य भएको हो ।
गर्दोईको ओरालो सकिना साथ पार गर्नु पर्ने सानो पुलको एका पट्टिको रेलिंग भाचिएको महिनौ महिना
भैसक्यो । त्यसको कारणले केहि साना सवारीहरू दुर्घटनामा परेको खबर पनि सुनिएकै हो र त्यहि पुलको प्रयोग हाम्रा जनप्रतिनिधिले पक्कै पनि गरेका होलान । २०५४ सालमा भएको स्थानीय निर्वाचनमा अहिले बिजयी हुनु भएको नगर पिता उप–मेयर पदमा आसिन हुनुहुन्थ्यो । वार्ड नम्बर ६ मा पर्ने चौघडाको पुलबाट साइकलमा सवार ब्यक्ति खसेर मृत्यु भएको घटना अनि पीडितहरुले ३ दिन सम्म उप–मेयरको टेबुलमा लास राखेर गरेको आन्दोलनको बारेमा पक्कै पनि जानकारी होला । गर्दोईको त्यो पुलमा पनि त्यस्तै घटना नहोला भन्न सकिन्न भने त्यति सानो कामको बारेमा आज सम्म कोहि कसैले घच्घच्याउने काम किन गरेनन ? दुर्घटना हुनुभन्दा अगाडिनै त्यसको उपाय खोज्ने कि घटना पश्चात बन्द हड्ताल र आन्दोलन गर्ने ? 
हेटौडा नगरपालिकाको बजार ईलाका भित्र ट्राफिक प्रहरीले हर्न निषेध गरेको छ । नगर पालिका देखि प्रशासनको सहयोग ट्राफिक प्रहरीले पक्कै पनि लिएको हुनु पर्दछ ।
बजारको बिचमा हर्न निषेध भनेर राखिएको सांकेतिक चिन्हले हप्ता कटाई सकेको छ तर नियमको पालना प्रायले गरेको देखिदैन र गर्न सम्भव पनि छैन किनभने हेटौडा बजारको बढ्दो ट्राफिक जामलाई ब्यानरमा निषेधको सांकेतिक चिन्ह राख्दैमा सम्भव हुने कुरा पनि भएन ।
हेटौडा बजार ईलाकामा अथाधिक मात्रामा अनुमति प्रदान गरेर संचालन गर्न दिईएको बिजुली रिक्सा देखि ३ पांग्रे अटो, कृषिको लागी भनेर झिकाईएको तर भाडाका सामान बोक्ने ट्रयाक्टर देखि ६ देखि १४ चक्के भारि सवारी निरन्तर गुडने तर उक्त सवारीको लागि पर्याप्त मात्रामा सडकको विस्तार गरिदैन भने सवारी जामले वातावरण प्रदुषण देखि ध्वनी प्रदुषण पक्कै पनि हुन्छ भने हर्न निषेध गर्दैमा वाताबरणको स्वच्छता के कसरि कायम हुन्छ ?
एसियन हाईवे भित्र पर्ने भनिएको हेटौडा बजारको मुख्य सडकको दायाँबायाँ पर्ने घरहरुलाई भत्काउन दिन्न भन्ने हाम्रा पहिले देखि अहिलेका नगर पिता अनि व्यापारीको नाउँमा राजनीति गर्न पल्केका केहि ठालुहरुले हेटौडा बजारको सवारीको चाप र त्यसबाट उत्पन्न हुने ध्वनीले हेटौडा नगरको वातावरण सप्रेको छ कि बिग्रेको छ जानकारी पनि राखेकै होलान त्यसैले ट्राफिक प्रहरीले चाहदैमा मात्र हेटौडा नगरको ट्राफिक देखि ध्वनी प्रदुषणको नियन्त्र गर्न कसरि सक्छन ।
नया देखि पुराना सडक के कसरी मर्मत तथा निर्माण गरिन्छ भन्ने बिषयमा हाम्रा सबै पार्टीका नेता तथा तिनका कार्यकर्ताहरुलाई राम्रै संग जानकारी पनि छ । सडक निर्माणको ठेक्का पट्टा लिने पनि पार्टीकै नेता देखि तिनका ईसारामा काम गर्ने नजिकका कार्यकर्ताहरु हुन । धेरै लामो समयपछी स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भई सकेको छ र बिजयी भएर पदभार ग्रहण गरेका जन प्रतिनिधिहरुले ‘खोलि तरेर लौरो बिर्सने’ काम गरेनन भने बिकास निर्माणको काम कार्यले पक्कै पनि गति पक्कै पनि लेला ।
हाललाई भत्केको सडक को खाल्डाखुल्डी पुर्न भनेर झारिएको ग्राभेललाई डोजर लाएर सम्याई दिने, पुलको रेलिंग मर्मत गर्ने देखि साँघुरो बाटोमा भारी सवारीलाई निषेध गरीदिने हो भने पनि नगरबासीहरुलाई केही राहत पुग्नेछ भन्ने यो पंक्तिकारको ठम्याई र आग्रह हो । समस्याको समाधान गर्ने नगर्ने हाम्रा जनप्रतिनिधिहरुनै जानून ।
Powered by Blogger.