बस्तीपुरमा आजबाट राष्ट्रिय भलिवल
हेटौँडा/हेटौंडा–२९ बस्तीपुरमा आज शुक्रबारबाट केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु हुदैछ ।
गत बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको भलिवलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको योगदानलाई जीवन्त राख्ने र ग्रामीण स्तरमा समेत भलिवल खेलको विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा ८ टोलिले सहभागिता जनाउने भएका छन् ।
आयोजक युवा तथा खेलकुद समन्वय समिति हेटौंडा–२९ को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन नेपाली का“ग्रेसका महामन्त्री कृष्ण सिटौलाले गर्ने कार्यक्रम तय भएको छ । आयोजक, चितवन, सशस्त्र प्रहरी, नेपाल आर्मी, पश्चिमाञ्चल, महोत्तरी, पुर्वाञ्चल र जावलाखेल गरी ८ टीमको सहभागिता रहने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रश्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमश ः नगद ७५ हजार, ४५ हजार, २५ हजार र १५ हजार रुपैंया प्राप्त गर्ने बताइएको छ । युवा तथा खेलकुद समन्वय समिति हेटौंडा–२९ का सल्लाहकार बसन्तकुमार सिटौलाका अनुसार बेष्ट प्लेयर र प्रशिक्षकलाई नगद ७ हजार ५ सय रुपैंया प्रदान गरिने छ भने अन्य उत्कृष्ट विधाका खेलाडीले नगद ३ हजार ५ सय रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्ने तयारी गरिरह“दा स्थानीयस्तरबाट सकारात्मक सहयोग एवम् सुझाव पाएको भन्दै आयोजक कमिटीका पदाधिकारीले आफूहरु उत्साही भएको प्रतिक्रिया दिएका छन् ।
निर्मल बहुमुखी क्याम्पसको चौरमा सञ्चालन हुने प्रतियोगिताको लागि करिब १० लाख रुपैंया खर्च लाग्ने अनुमान रहेको प्रचारप्रसार समिति संयोजक प्रकाश थोकरको भनाई छ ।
