Header Ads


उजुरी दिनुस् कार्वाही हुन्छः प्रजिअ थपलिया

हेटौँडा, ८मंसिर/मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले कालोबजारी भएको 
जानकारी भएमा उजुरी दिन आग्रह गरेका छन् । 
उनले कालोबजारी भयो भनेर मौखिक रुपमा भन्दैमा नहुने बताउँदै उजुरी आए कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रेडियो निकास तथा निकास साप्ताहिकको वार्षिकोत्सवका अवसरमा मङ्गलबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सामाजिक सञ्जालमा अहिलेको अवस्थाको टिप्पणी गर्नेहरुको निगरानी भईरहेको बताउँदै जथाभावी लेख्नेलाई कार्वाही गर्ने चेतावनी समेत दिए । इन्धन, खाद्यान्नलगायतको सामाग्रीमा कालोबजारी बढेको भनिएतापनि कुनै उपभोक्ता प्रशासनमा उजुरी गर्न नआएको दोहो¥याए । ‘कालोबजारीको उजुरी दर्ता भएपछि मात्र कार्यान्वयन हुन्छ’, प्रजिअ थपलियाले भने, ‘उजुरीलाई नोटिस गरेर मात्र बजार अनुगमन गर्नेछौँ ।’ मकवानपुरमा रहेका विभिन्न ग्यासका डिलरहरु प्रशासनको सम्पर्कमा नआएकोले जिल्लामा सहारा ग्यास बाहेक अन्य ग्यास वितरण नगरिएको उनको जवाफ छ । कार्यक्रममा नेपाली काँग्रेसका सभापति रघुरमण न्यौपानेले यस्तो दुखद् कालोबजारी नगर्न आग्रह गरे । एकीकृत नेकपा माओवादीका नेता ललित घलानले भारतले गरेको नाकाबन्दीका कारण मकवानपुरमा कालोबजारी बढेकोले भन्दै प्रशासनले बजार अनुगमनमा सक्रियता बढाउनुपर्ने बताए ।
 राजनीतिक दलहरु मिलेर नेपालको नयाँ संविधान घोषणा गरेअनुसार नाकाबन्दीको निकास दिन पनि राजनीतिक दल एक हुनु आवश्यक रहेको उनले औंल्याए । नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाईंले सरकारले तोकेको भन्दा बढी भाडा संघ अन्तर्गतका सवारीले नलिएको दावी गरे । यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने व्यवसायीले कालोबजारी गरेको नभै उद्योगबाट नै मूल्य वृद्धि गरिएको दावी गरे ।  
सञ्चार संघ नेपाल (रेडियो निकास) का अध्यक्ष सुनिल खड्काको अध्यक्षतमा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका सचिव बासु खतिवडा, नागरिक सरोकार समितिका अध्यक्ष केशव गौतम, मानवअधिकार तथा शान्ति समाजका सभापति राजन दाहाल खुशराज, प्रजातान्त्रिक कानून व्यवसायी संघ अध्यक्ष केशव काफ्ले, राप्रपा नेपालका बेलप्रसाद चौलागाई, अनेरास्ववियु मकवानपुर अध्यक्ष सन्तोष पौडेल लगायतले कालोबजारीका कारण सामान्य नागरिक मारमा परेको भन्दै प्रशासन मौन बसेको गुनासो गरेका थिए । 
Powered by Blogger.