अष्टकुमारी टि–२० क्रिकेट प्रतियोगिता सुरु
हेटौँडा, ८ मंसिर÷हेटौंडा जेसीजले प्रत्येक बर्ष सञ्चालन गर्दै आएको अष्टकुमारी स्मृति टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले क्लवस्तरीय यस प्रतियोगितालाई जिल्लास्तरीय बनाउन आयोजकलाई अनुरोध गरे । जेसीज जस्ता सामाजिक संस्थाले आयोजना गर्ने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सघाउ पु¥याइरहेको अध्यक्ष तिमल्सिनाको दावी छ । यस्तै प्रतियोगिताको प्रायोजक हेटौंडा जेसीजका पूर्व अध्यक्ष पूर्ण शाक्यले यस प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै थप आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
प्रतियोगिताको उद्घाटनमा हेटौंडा जेसीजका अध्यक्ष दीपकराज मिश्र, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष अञ्जनीकुमार पराजुली, आयोजक संस्थाका कार्यकारिणि उपाध्यक्ष सन्देश डिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडा जेसीजका पूर्व अध्यक्ष पूर्ण शाक्यको आमाको स्मृतिमा जेसीजले यस प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा जिल्लाका ७ टोलीको सहभागिता रहेको छ । १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेता टोलिले क्रमश ः नगद १५ हजार र १० हजार रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको अनुशासित टीमले नगद १० हजार रुपैंया प्राप्त गर्नेछन् भने उत्कृष्ठ ब्याट्स्म्यान र बलरलाई समेत पुरस्कारको व्यवस्था गरिएको जेसीज निवर्तमान अध्यक्ष कविन साङ्गामीले जानकारी दिए । यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर क्रिकेट क्बलले विजयी सुरुवात गरेको छ । क्लबले फ्लाइङ इगल क्लबलाई ६६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । मकवानपुरले प्रस्तुत गरेको एकसय ९४ रनको लक्ष्य पछ्याउने क्रममा फ्लाइङ एकसय २८ रनमा समेटिएपछि मकवानपुर क्रिकेट क्बलले ६६ रनको फराकिलो जित हात पारेको हो । अनिल शाहको शतकीय पारीबाट प्रेरित मकवानपुरले २० ओभरमा ६ विकेट गुमाउँदै उक्त योगफल तयार पारको थियो । शाहले ५० बलमा एकसय दुई रन बनाएका थिए । फ्लाइङका सन्तोष शाह र अनिल शाहले दुई÷दुई विकेट लिएका थिए । फ्लाइङलाई कम स्कोरमा रोक्ने क्रममा मकवानपुरका जितेन्द्र याबदले दुई विकेट लिए । फ्लाइङले २० ओभरमा सात विकेट गुमाएको थियो । फ्लाइङका लागि अंकुशा शाहले २० रनको योगदान
गरेपनि अन्य ब्याट्सम्यान भने चल्न सकेनन् ।

