अन्तर्राष्ट्रिय आमन्त्र गोल्डकप फुटबल तत्काललाई स्थगित
हेटौँडा, ८ मैसिर/गत बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय आमन्त्र गोल्डकप फुटबल प्रतियोगिता तत्काललाई स्थगित गरिएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भोम्जनको स्मृतिमा हेटौंडामै पहिलोपटक यही मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म अन्तर्राष्टिूयस्तरको आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आयोजना गरिने तय भएको थियो ।
देशको वर्तमान असहज परिस्थितिका कारण प्रतियोगिता अर्को मिति नतोकिँदा सम्मलाई स्थगित गरिएको आयोजकले जानकारी दिएको छ । मंगलबार बसेको आयोजक समिति र सल्लाहकारहरुसहितको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतिष्ठान अध्यक्ष भेष खड्कीले जानकारी दिए । बैठकले प्रतियोगिताका लागि प्रायोजन गर्न तयार रहेका व्यावसायिक प्रतिष्ठानहरुसंगको छलफल र निरन्तर सहकार्यको प्रतिबद्धतासहित देशमा आपूर्ति व्यवस्थालगायत अन्य वातावरण सहज भएपश्चात् हाल व्यापारिक संघसंस्थासंग प्रतिबद्धताअनुरुप नै प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा हालसम्म भएको कामबारे पनि जानकारी गराइएको थियो ।
हालसम्म वन विज्ञान अध्ययन संस्थानस्थित खेल मैदान सुधारको कार्य भइरहेको, मुख्य प्रायोजक–१, सह–प्रायोजक–२ र सहयोगी संस्था ३ गरी ६ वटा संस्थाले सहयोगको प्रतिबद्धता जनाएको प्रतिष्ठान महासचिव सविन न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार प्रतियोगितामा सहभागिता जनाउन थ्री स्टार, भापा–११, भारतको कञ्चनजंघा, भुटानको सीएमसी, तीन वटा विभागीय टिमहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीको नेपाल पुलिस क्लबले प्रतिबद्धता जनाइसकेको र घरेलु टिमको खेलाडी छनौटको चरणमा रहेको थियो ।
