Header Ads


कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान

हेटौँडा, ७ मंसिर/चौथो राष्ट्रिय कर दिवशको अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएको छ । 
आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको सम्मान कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक महेश दाहालले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । कार्यक्रममा आर्थिक वर्ष २०६९÷०७० मा बढी कर तिर्ने व्यापार व्यवसायतर्फका करदाता बलराम दाश एण्ड सन्स, उद्योगतर्फ नेपाल इकरात इन्जिनियरिङ कम्पनी र बित्तीय संस्थातर्फ अल्पाइन डेभलपमेण्ट बैंकलाई सम्मान गरिएको हो । यसैगरी आर्थिक वर्ष २०७०÷०७१ मा उद्योगतर्फ खाद्य उद्योग लिमिटेड, सहकारी संस्थातर्फ मकवानपुर बचत तथा ऋण सहकारी संस्था, शैक्षिक संस्थातर्फ हेटौंडा स्कुल अफ मेनेजमेण्ट एण्ड सोसिएल साइन्सेस र बित्तीय संस्थातर्फ अल्पाइन डेभलपमेण्ट बैंकलाई सम्मान गरिएको हो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय हेटौंडाका अधिकृत राधेश्याम दाहाल उत्कृष्ट कर्मचारीको रुपमा नगद दुईहजारसहित सम्मानित भए । उत्कृष्ट करदातालाई सम्मान गर्दै मध्यमाञ्चल क्षत्रीय प्रशासक दाहालले कर छलि गर्दा गर्व गर्ने जमाना रहेको भन्दै कर तिर्नुपर्छ भन्ने धारणाको विकास गराउनु आवश्यक रहेको बताए । उनले देशको वर्तमान अवस्थाका कारण कर संकलनमा कमी आउने बताउँदै करका प्रावधानहरुलाई सरल बनाउनु पर्ने धारणा ब्यक्त गरे । राज्यलाई कर तिर्नुपर्छ र राज्यले दिने सेवा सुविधा समेत लिनुपर्छ भन्ने बिषयमा युवा वर्गलाई जानकारी दिनु आवश्यक रहेको क्षत्रीय प्रशासक दाहालको भनाई छ । 
आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत जीवन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादव, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत, उद्योग संघ मकवानपुरका अध्यक्ष ऋषिराम घिमिरे, सम्मानित हेटौंडा स्कुल अफ मेनेजमेण्टका प्राचार्य पुरनबहादुर जोशी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
Powered by Blogger.