रोटरीले भूकम्प पीडितका लागि घर बनाउने
हेटौँडा, १८ कात्तिक÷रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर केशब कुंवरले रोटरीले भूकम्प पीडितहरुका लागि नेपालमा एकहजार स्थायी घर बनाउने बताएका छन् ।
रोटरी क्लब अफ मकवानपुरको भीजीट तथा चौथो एसेम्बलीमा भाग लिन हेटौंडा आएका कुँवरले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी भूकम्प प्रभावित क्षेत्रमा नेपाल उद्योग बाणिज्य महासंघसँग सहकार्य गरेर भूकम्प प्रतिरोधात्मक एकहजार स्थायी घर बनाउने जानकारी दिए ।
उनका अनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका निश्चित स्थानहरुमा सरकार मापदण्डअनुसार स्थानयीको स्वीकृत लिएर रोटरी भिलेज निर्माण गरिनेछ । ‘भूकम्प प्रभावितहरुका लागि एउटा गाउँमा कम्तिमा ५० वटा स्थायी भवन बनाएर सोही स्थानमा खानेपानी, विद्यालय, सभाकक्षा, स्वास्थयलगायत सम्पूर्ण सुविधा प्रदान गर्नेगरी निर्माण गरिनेछ,’ उनले भने । उनका अनुसार रोटरीले भूकमप प्रभावित १४ जिल्लामा पनि दशवटाका दरले एकसय ४० वटा प्राथमिक तहका विद्यालय निर्माण गर्ने बताए । उनले त्यसका लागि विभिन्न देशका रोटरियनहरुसँग छलफल गरिरहेको जानकारी दिए ।
उनले रोटरी क्लबले निःस्वार्थ भावले समाजलाई आफूभन्दा माथि राखेर सेवा गरिरहेको बताए । रोटरीले विश्वबाट पोलियो उन्मूलन गरेर सबैको मन जितेको स्मरण गराउँदै अझै विविध किसिमको कार्यक्रमहरु संसारभर नै सञ्चालन गरिरहेको बताए । पत्रकार सम्मेलनमा डिष्ट्रिक सेक्रेटरी चिन्तामणि भट्टराईले रोटरी क्लब अफ मकवानपुरले स्थापनाको पहिलो वर्षमा नै सोचेभन्दा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । उनले रोटरी क्लब मकवानपुर छोटो समयमै परिपक्वा क्लबको रुपमा अगाडि बढेको बताउँदै आगामी दिनमा अझै समाजका लागि प्रभावकारी हुने गतिविधि गर्न सुझाव दिए ।
क्लब अध्यक्ष ज्ञानकृष्ण प्रजापतिको सभाध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । उनले रोटरी क्लब अफ मकवानपुरले जिल्लामा गरेको विविध कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराएका थिए ।
