मकवानपुरमा बन्दको सामान्य प्रभाव
हेटौँडा, १३ मंसिर/भारतले नेपालमा गरेको नाकाबन्दीको बिरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको सामान्य प्रभाव मकवानपुरमा पनि परेको छ ।
बन्दकर्ता सडकमा नदेखिएपनि लामो दुरीका एवम् ठूला सवारी चलेनन् । पसल, कलकारखाना एवम् विद्यालय पनि केही मात्रामा बन्द भएको पाइएको छ । बन्दकर्ताले बिहानै इलामबाट काठमाण्डौंको लागि छुटेको एउटा बसमा हेटौंडा–१७ चुरियामाई पिपलबोट ढुङ्गा प्रहार गरेको थियो ।
लुकेर प्रहार गरेको ढुङ्गा लागेर ना ५ ख २४४९ नम्बरको बसको सिसा फुटेको छ भने चालक दीपक लामो टाउकोमा समेत चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए । यता माओवादी मकवानपुरका नेता गोकुल दाहालले भने बन्द शान्तपूर्ण रहेको दावी गरेका छन् । विहान प्रदर्शनमा निस्किने क्रममा प्रहरीले धरपकड गर्न खोजेपछि बन्दकर्ता सडकमा ननिस्किएको उनको भनाई छ ।
बन्दको चौतर्फी बिरोध भएपनि बिरोध गर्नुको कुनै तुक नरहेको नेता दाहालको तर्क छ । ‘भारतले नाकाबन्दी गरेको यत्तिका समय भैसकेको छ, यो अवस्थासम्म आइपुग्दा पनि सरकारको तर्फबाट नाकाबन्दी खुलाउन कुनै पहल हुन सकेको छैन‘, उनले भने, ‘सरकारले के गर्न सक्छ त्यो त गर्न परो नि । नाकाबन्दीको मौका छोप्दै कालोबजारी, तस्करी बढेको छ ।’ माओवादी सडकमा रहेको पार्टी भएकाले शान्तिपूर्ण रुपमा नेपाल बन्दको आयोजना गरी सरकारलाई झक्झकाएको माओवादी मकवानपुरका नेता दाहालको भनाई छ ।
