भारतको मनसाय बुझिएन ः थापा
हेटौँडा, ३० कात्तिक/उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकास मन्त्री कमल थापाले भारतले नाकाबन्दी गर्नुको मनसाय बुझ्न नसकिएको बताएका छन् ।
हेटौंडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतले नेपालबाट के चाहान्छ भन्ने नै प्रष्ट हुन नसकेको बताए । थापाले नेपालमाथि भारतले गरेको नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्नु दुवै मुलुकको हितमा नरहेकोले यसलाई अन्तराष्ट्रियकरण नगरिएको जानकारी दिए । नेपाल र भारतबीच घनिष्टसम्बन्ध रहेको बताउँदै उनले नाकाबन्दीलाई अन्तराष्ट्रिय मुद्दा बनाउनु दुवै देशलाई फाइदा नभएको दोहो¥याए ।
उनले जनतालाई दुखकष्ट हुने गरी नाकामा भारतले अवरोध गर्नु उचित नभएको दो¥याउँदै संविधान निर्माण जस्तो आन्तरिक विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरुनको संयुक्त वक्तब्यमा उल्लेख गरिएकोप्रति आपत्ति ब्यक्त गरे । नेपाल र भारतबीचको समस्या वार्ताबाट समाधान गर्न सकिने बताउँदै परराष्ट्रमन्त्री थापाले भारतले नेपालमाथि नाकाबन्दी गर्नुको मनसाय रहस्यमय रहेको धारणा राखे ।
उनले शान्ति, प्रजातन्त्र र स्थायित्वको बारेमा विज्ञप्तिमा उल्लेख भएपनि अर्को देशको आन्तरिक मामिलाका बारेमा उल्लेख गरिएकोमा आपत्ति ब्यक्त गरे । भारतको अहित हुने काम नेपालले गरेको छैन भन्दै उनले प्रश्न गरे, नेपाल विरुद्ध नाकाबन्दी किन गरिएको हो ? उनले नेपालको संविधान पूर्ण समावेशी रहेकोले दुवै प्रधानमन्त्रीललाई नेपालको संविधान अध्ययन गरेर मात्र टिप्पणी गर्न आग्रह समेत गरे । दुई प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा नेपालको आन्तरिक मामलामा उल्लेख भएको विषयमा भारत र ब्रिटेनका राजदूतसँग स्पष्टिकरण माग्ने बताउँदै उनले तराई मधेशका मिडियाले राष्ट्रिय स्वाभिमानमा आच पुग्ने गरी संचार सामग्री प्रकाशन प्रशारण गरेकोप्रति आपत्ति जनाए । भारतले नेपालमा नाकाबन्दी गर्नुको कारण स्पष्ट नभएको भन्दै नेपाल र भारतबीचमा समस्या भए वार्ताबाट समाधान गर्न सकिने जिकिर गरे । सरकार तराई मधेश केन्द्रित दलहरुको माग संवोधन गर्न तयार रहेको भन्दै आन्दोलनको औचित्य छैन भने ।
