Header Ads


भाग्यवादी राजनीतिक अभ्यास कहिले सम्म ?

 नेपाली राजनीतिज्ञहरुको भाग्यवादी  विश्वास लामो समयदेखि रहदै आएको छ । जब राजनीतिकर्मीलाई कर्ममा भन्दा भाग्यमा विश्वास हुन्छ, तिनका निम्ति भाग्य एउटा ठूलो अस्त्र बन्छ । पछिल्लो समय सरकार र आन्दोलकारीले समातेको बाटोले पनि यही भाग्यवादी राजनीतिलाई बलियो बनाएको छ । करिब ३ महिनादेखि तराई–मधेस मूर्त–अमूर्त मागका कारण बन्द छ, कसरी त्यसको समाधान हुन्छ भन्ने कुरो न आन्दोलनकारी लाई थाहा छ न त सत्तालाई नै । छिमेकीले लगाएको नाकाबन्दीका कारण देश नै ठप्प भएको छ, त्यसलाई खुलाउने उपाय न त राजनीतिकर्मीसँग छ न त कूटनीतिकर्मीसँग नै । सत्ता त यो अप्ठेरोमा उत्तरी छिमेकी चीनसँग हारगुहारमा उत्सुकता देखाइरहेको छ । तर, उसँग कसरी दीर्घकालीन इन्धन सम्झौता हुन सक्छ भन्नेबारे स्वयम् अनभिज्ञजस्तै छ । भाग्यवादी राजनीतिको योभन्दा अर्को उदाहरण के हुन सक्ला ?
        देश यति निरिह इतिहासबाट कहिल्यै गुज्रिएको थिएन ।  कहाँ–कसलाई गुहारेर समस्या समाधान हुन्छ भनेर खोजी भइरहेको छ । निरिहताको यो पराकाष्ठाको मूलकारण अदूरदर्शी र भाग्यवादी राजनीति नै हो । भारतले नेपाललाई बिनाकारण अप्ठेरोमा पारिदिएको यो पहिलो घटना होइन, यस्तो व्यवहार उसले पञ्चायतकाल, बहुदलकाल र गणतन्त्रकालमा गरि पटक–पटक देखाइसकेको छ । उसलाई नेपालमा आफ्नो अनुकूल राजनीति बनोस् भन्ने भित्री आशय रहँदै आएको छ । व्यापार शास्त्रको पुरानो मान्यताले पनि भन्छ–जब कोही किन्नेमात्र काम गर्छ, तब ऐनमौकामा बिक्रेताले सामान नबेच्न वा रोकिदन पनि सक्छ– आफू घाटा खाएरै भए पनि अप्ठेरोमा पारिदिन सक्छ । किन्नेले थोरै परिमाणमा भए पनि त्यो बिक्रेतालाई बेच्ने सामान उत्पादन गर्न सक्नुपर्छ । तबमात्र व्यापार सन्तुलन हुन्छ । यो पुरानो तथ्यलाई पनि भाग्यवादी नेपाली राजनीतिले बुझ्न चाहेन । भारतलाई नेपालले बेच्ने भनेको बिजुलीमात्रै हो, बिक्री गर्न पुग्ने परिमाणमा त्यसको उत्पादन हुन सकेको भए पनि आज जनताले यो संकट झेल्नुपर्ने थिएन । राजनीतिक भाषामा अहिले नेपाल ‘चाइना कार्ड’को प्रयोगमा अग्रसर भएको देखिएको छ। त्यो विशाल मुलुकका निम्ति नेपाललाई आवश्यक इन्धन दिनु ठूलो कुरा नहोला, तर त्यसलाई सहज प्राप्त गर्नका निम्ति आन्तरिक तयारी केही पनि छैन । अहिले प्रयोग गर्न थालिएको केरुङ नाकाको सडक नाममात्रैको छ । त्यहाँ इन्धन बोक्ने १० चक्के ट्रक तथा कन्टेनर चल्न सक्दैन, वर्षायाममा त साना गाडी पनि चल्न मुश्किल पर्छ । त्यो भगवान भरोसामा चल्ने सडक हो । त्यसको स्तरोन्नति गर्ने र बैशाख १२ को महाभूकम्पपछि जीर्ण बनेको तुलनात्मकरूपमा सुविधा सम्पन्न तातोपानी नाकाको तत्काल पुनर्निमाण गर्ने योजना सरकारसँग छैन ।
विश्वलाई चकित पार्नेगरी विकास गरिरहेका दुई मुलुक हुन् चीन र भारत । यी उदीयमान बलियो अर्थतन्त्रधारी मुलुकले नेपाललाई खुसी पार्न एकअर्कालाई चिढाउने काम पक्कै पनि गर्दैनन् । यो सामान्य कूटनीतिसमेत सत्ताले बुझ्न चाहेको छैन या बुझेर पनि बुझ पचाइरहेको छ । त्यसैले सत्ता अनुकुलको राष्ट्रवादी राग अलापीरहेको छ । जब नेपालमा भारतको नाकाबन्दी आरम्भ भयो र नेपालले चीनतर्फ हात बढाउन चाह्यो, तब चीनले भारतसँग यसबारे संवाद ग¥यो । यसकारण पनि नेपालले दुवै निकटतम छिमेकीलाई समदूरीमा राख्न सक्दामात्रै फाइदा हुन्छ भन्ने बुझ्नु जरुरी छ । अन्यथा लामो समयदेखि भाग्यवादी राजनीतिक अभ्यास गर्दै आएको देश नेपालका नागरिककले झेलीरहेको दुःखमा केवल भाग्यलाई दोष दिनु बाहेक के नै बाँकी रहला र ?
Powered by Blogger.