पत्रकारले राजनीतिक दललाई हरायो
हेटौँडा, ५ मंसिर÷निकास साप्ताहिक र रेडियो निकासको बार्षिकोत्सवको अवसरमा आयोजित राजनैंतिक दल र मकवानपुरका क्रियाशिल पत्रकारबीचको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोलि विजयी भएको छ ।
विगतका बर्षमा राजनीतिक दललाई हराउन नसकेको पत्रकारको टोलिले शनिबारको खेलमा भने २–१ को जित निकालेको हो । पत्रकारको जितमा बिक्रम बानियाँले पहिलो गोल गरेका थिए भने मिलन अर्यालले अन्तिम गोल गरेका थिए ।
राजनीतिक दलको तर्फबाट एक मात्र गोल पेनाल्टि मार्फत दीपेन्द्र ढकालले गरेका थिए । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले खेलका रेफ्रि सुविन घिमिरेलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए । प्रतियोगितामा राजनीतिक दलको तर्फबाट एकीकृत नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु र पत्रकारको तर्फबाट प्रताप बिष्टले क्याप्टेनको भूमिका निर्वाह गरेका थिए । निकास साप्ताहिक तथा रेडियो निकासको बार्षिक उत्सव संयुक्त रुपमा विविध कार्यक्रमको आयोजना गरी मनाइरहेको पत्रिकाका प्रकाशक एवम् रेडियोका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।
फुटबल प्रतियोगिताको उद्घाटनमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप बिष्ट, पूर्व जिल्ला अध्यक्ष राममणि दाहाल, खेलकुद विकास समिति कार्यालय प्रमुख, पूर्व अध्यक्ष बालकृष्ण चौलागाईं, पत्रकार महासंघ मकवानपुर सचिव कृष्ण सारु मगर, सहसचिव कुमार अधिकारी लगायतको उपस्थिती थियो ।
