सूचनाको हक प्रयोग गर्दै पुनरावेदन बारले भन्यो .....कति इन्धन वितरण भो ?
हेटौँडा, १७ मंसिर÷भारतले गरेको नाकाबन्दीपछि मकवानपुरमा ग्यास लगायतका इन्धन वितरणमा स्थानीय प्रशासनले पारदर्शीता कायम गर्न नसकेको आरोप लाग्दै आएको छ ।
जिल्लामा आपूर्तिको व्यवस्था गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरको कामप्रति जनगुनासो आएको भन्दै पुनरावेदन वार एशोसियसन हेटौ“डाले इन्धन वितरणको विवरण माग गरेको छ । बारले सूचनाको हकसम्बन्धी ऐनको प्रयोग गर्दै इन्धन वितरणको सूचना माग गरेको हो । नाकाबन्दीपछि मकवानपुरका के कति परिणाममा इन्धन आयो र के कस्तो प्रक्रियाबाट कसरी वितरण गरिएको हो विवरण माग गरिएको बारका अध्यक्ष गोपालप्रसाद आचार्यले जानकारी दिए । उनले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार सूचनाको हकको अधिकार प्रयोग गर्दै सूचना माग गरेको बताए । सरकारी कार्यालय, सार्वजनिक सवारीका साधन, सुरक्षा निकाय, सर्वसाधारण नागरिक र अन्य क्षेत्रमा वितरण गरिएको इन्धनको विवरण बारले माग गरेको छ । बारले इन्धन वितरणका लागि विभाग र मन्त्रालयबाट दिइएको निर्देशनसमेत प्रशासनसंग माग गरेको छ । कानुन व्यवसायीले यसअघि इन्धन माग गर्दा तपाईहरु अहिले इन्धन दिने सूचीमा हुनुहुन्न भन्दै खाली हात फर्काएको थियो । नाकाबन्दी र तराई आन्दोलनले देशमा संकट परेको अवस्थामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको उचित भूमिका नदेखिएको भन्दै सर्वत्र आलोचना भैरहेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले आफ्नै ढङले मनलाग्दी रुपमा उपभोग्य वस्तुको मूल्य तोकेको, ग्यास विक्रेताले मनलाग्दी ढङ्गले ग्यास वितरण गरेको, प्रति सिलिण्डर तीनसय देखि चारसय सम्म मूल्य बृद्धि गरेको र सिलिण्डरसहित ग्यास किन्नुपर्ने नियम बनाएपनि प्रशासनले कुनै कार्वाही गर्न नसकेको आरोप लाग्दै आएको छ । यस्तै हेटौंडा हटियामा रहेको शिवम् सिमेण्ट उद्योगले नाकाबन्दीपछि एक महिनाको अवधिमा प्रति बोरा एकसय ५० रुपैंया मूल्य बृद्धि गर्दा समेत प्रशासनले कुनै ठोस कदम नलिएकोले यसमा प्रशासनको समेत मिलेमतो रहेको सर्वसाधारणले आशंका गरेका छन् ।
मकवानपुरका राजनीतिक दल, उपभोक्तावादी एवम् सञ्चारकर्मीले समेत प्रमुख जिल्ला अधिकारीको कमजोर नेतृत्व एवम् कार्यशैलीको बिरोध गर्दै आएका छन् । बारले सूचनाको हक प्रयोग गर्दै इन्धन वितरणको विवरण माग गरेपछि कानुन व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले बारका एक पदाधिकारीमार्फत प्रतिब्यक्ति पा“च लिटर पेट्रोल वितरण गरेको जानकारीमा आएको छ ।

