Header Ads


संविधानलाई खोट लगाउनु गलत :मन्त्री पाण्डे

हेटौँडा, १६ मंसिर/उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालको संविधानलाई खोट लगाउनु गलत भएको बताएका छन् ।
बुधबार उद्योग संघ मकवानपुरको १४ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले नेपालको संविधान अन्य मुलुकको संविधान भन्दा उत्कृष्ठ रहेको ठोकुवा गरे । सरकार र सत्तासिन पार्टीले संविधान संशोधन गर्न नमानेको आरोप लगाइएको भन्दै मन्त्री पाण्डेले संविधान संशोधन गर्न तयार रहेको बताए । 
नाकाबन्दीका कारण सबै भन्दा बढि असर उद्योग व्यवसायमा परेको भन्दै उनले सरकारले नाकाबन्दी खुलाउन पहल नगरेको भन्ने बिषय आरोप मात्र भएको धारणा राखे । ‘परिणाम नआउञ्जेल नाकाबन्दी खुलाउन पहल भएन भन्नु स्वभाविक नै हो, परिणाम आएपश्चात मात्र देखिने कुरा हो’, मन्त्री पाण्डेले भने, ‘सरकारले गर्नुपर्ने पहलकदमी भैरहेको छ ।’ 
देशमा परेको नाकाबन्दीको संकट टार्नको निम्ति सरकारमा रहेको दल र सरकार बाहिर रहेको दलको समान जिम्मेवारी र उत्तरदायित्व रहने उनको भनाई थियो । यस्तै सांसद् इन्द्रबहादुर बानिया“ले सत्ता पक्षले चाहेमा दुईघण्टामै नाकाबन्दी खुल्ने ठोकुवा गरे । अर्का सांसद् अनन्त पौडेलले का“ग्रेस संग भएको भद्र सहमति तोडिएपछिको अभद्रता, तराई मधेको उग्र आन्दोलन र भारतको नाकाबन्दीका कारण मुलुक यो अवस्थामा आइपुगेको बताए । 
सांसद् रामनारायण बिडारीले संविधान नेपाली जनताको हितमा भएपनि छिमेकी मुलुकलाई मन नपरेका कारण यो अवस्था खेप्न बाध्य भएको धारणा राखे । उद्योग संघ मकवानपुर अध्यक्ष ऋषिराम घिमिरेको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटनमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, विभिन्न 
राजनीतिक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा उद्योग संघ मकवानपुर नारायण शर्मा पत्रकारिता पुरस्कार पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप बिष्टलाई प्रदान गरिएको थियो । नगद १० हजार राशीको पुरस्कार एवम् प्रमाणपत्र उद्योग मन्त्री पाण्डेसहितका अतिथीहरुले बिष्टलाई प्रदान गरेका हुन् ।
Powered by Blogger.