आगलागीबाट दुईजनाको मृत्यु
हेटौँडा,१३पुस/मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–२ स्याउली बजारमा गएराति करिब ११ बजेको समयमा आगलागी हु“दा दुई जनाको जलेर मृत्यु भएको छ ।
स्थानीय देवेन्द्र कार्कीको ढुङ्गामाटेले बनेको दुईतले घरमा होटल चलाएर बस्दै आएकी अन्दाजी ४५ बर्षीया माया थोकर र उनको घरमा पाहुना लाग्न आएका अन्दाजी ४० बर्षीया उनकोे बहिनी माइली थिङको आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागीबाट घर पूर्ण रुपमा नष्ट भएको छ । उनीहरुको शव सोमबार बिहान मात्र निकालिएको स्थानीयको भनाई छ । ६ जना बस्दै आएको घरमा अन्य भने बाहिर निस्किएपनि दुईजनाको भने घरसंगै जलेर मृत्यु भएको हो ।
विजुली नभएका कारण मैनबत्ती बालेर सुतेको र मैनबत्तिबाटै आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । यता प्रहरीले भने अगेनाबाट अचानक आगलागी भएको बताएको छ । आगलागीबाट अन्दाजी सा“ढे १७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए । आगो करिब सवा एक घण्टा पश्चात नेपाली सेना, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

