सातजना पत्रकारलाई विपन्नको सम्मान
हेटौँडा, २६मंसिर÷विपन्न बचत तथा ऋण सहकारी संस्था हेटौंडा ११, सिमलटारले मकवानपुरमा सात जना पत्रकारहरुलाई शनिबार सम्मान गरेको छ ।
संस्थाले सुकम्बासी बस्तीका नागरिकको हक अधिकारका सवालमा पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै विभिन्न सञ्चारमाध्यममा क्रियाशील सातजना पत्रकारलाई सम्मान गरेको हो । रेडियो मकवानपुरका राजन दाहाल खुसराज, शिव चौलागाई, हेटौंडा सन्देशका धु्रव अधिकारी, कान्तिपुर टीभीका बालकृष्ण अधिकारी, रेडियो निकासका सुनील खड्का, साझाकुरा दैनिकका सविन न्यौपाने र नारायणी दैनिकका कुमार नेगीलाई सहकारीले प्रसंशापत्र प्रदान गर्दै सम्मान गरेको हो । सुकम्बासी बस्तीका विपन्न नागरिकलाई आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले शिक्षा, स्वास्थ्य, खाद्यसुरक्षा तथा प्रकोप व्यवस्थापन सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आइरहेको गैर सरकारी संस्था सीसीडीएनलाई बिदाई तथा स्थासभागृह शिलान्यासका अवसरमा पत्रकारहरुलाई सम्मान गरिएको सहकारीका सचिव कमलचन्द्र सुमनले जानकारी दिए ।
सहकारीका अध्यक्ष दुधुमाया थापाको अध्यक्षता तथा सांसद एवम् एकीकृत माओवादीका केन्द्रिय सल्लाहकार रामनारायण विडारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सांसद विडारीले लामो समयदेखी सङ्घर्षमार्फत सुकुम्बासीले बसोबास गर्दैै आएको जग्गाको लालपुर्जा दिलाइने विश्वास व्यक्त गरे । कार्यक्रममा सिसिडिएनका महेन्द्रबहादुर थापा, एमाओवादीका प्रकाश पाण्डे लगायतले मन्तव्य व्यक्त गरेको थियो ।
