महिला नेतृत्वको बिषयमा अन्तरक्रिया
हेटौँडा, १७ मंसिर/हेटौंडा लेडी जेसीजको जेसीज सप्ताहको तेस्रो दिनको कार्यक्रम अन्तर्गत बिहीबार समुन्नत समाजको लागि महिला नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
अन्तरक्रियामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नारी सीप सृजना केन्द्रका संस्थापक अध्यक्ष एवम् लेडी जेसीजका मानार्थ सदस्य बिष्णु ओझाले महिलाले नेतृत्व गरेको कुनैपनि संस्था असफल नभएको तर्क गर्दै नेतृत्वमा दूरदर्शीता भने आवश्यक रहेको बताइन् । पछिल्लो समय महिलालाई अवसर दिन थालिएको भन्दै उनले खुसी व्यक्त गरिन् । धेरै संस्था तथा निकायमा महिलाको स्थान केवल आरक्षण कोटा पूरा गराउनका लागि मात्र राखिने गरेको उनको भनाई छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको अवस्थामा लेडी जेसीजले महिलाको नेतृत्वको बिषयमा अन्तरक्रिया राखेको भन्दै ओझाले खुसी व्यक्त गरिन् ।
कार्यक्रम संयोजक सपना क“डेलको संयोजकत्व एवम् लेडी जेसीज अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरक्षा के.सी लगायतले महिला नेतृत्वको बिषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जेसीज सप्ताह मूल कार्यक्रम सह–संयोजक सृजना मानन्धरले सप्ताहव्यापी कार्यक्रमको बिषयमा
जानकारी गराएकी थिइन् ।
