बकैयाखोला संरक्षणका लागि सञ्जाल
हेटौँडा/मकवानपुरको छतिवनमा रहेको बकैयाखोला संरक्षणको निम्ति स्थानीय एकजुट भएका छन् ।
राष्ट्रति चुरे तराई मधेश संरक्षण विकास समिति, जिल्ला सामाजिक परिचालन कार्यक्रम अन्तर्गत जिल्लास्तरका सरकारी सरोकारवाला र स्थानीयको भेलाले मानवहादुर वाइवाको संयोजकमा ४५ सदस्यीय बकैयाखोला नदीप्रणाली संरक्षण संजाल गठन गरेको हो । भू–संरक्षण तथा कृषि समूह उपभोक्ता समूहको भेलाले वाइवाको संयोजकत्वमा गठित सञ्जालले चुरे क्षेत्र भएर वग्ने नदीहरुमध्ये बकैयाखोला एक प्रमुख भएकोले यसको संरक्षण गर्र्ने कार्यमा सकृय रहने बताइएको छ ।
संजाल निर्माणका निम्ति भएको भेला छतिवन गाविस सचिव शिवराम वोहराको अध्यक्षतामा भएको हो । भेलामा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भटराईको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा जिल्ला भू–संरक्षण कार्यालयका सहायक भू–संरक्षण अधिकृत शेरवहादुर श्रेष्ठ, जिल्ला कृषि विकास कार्यालयका सहायक कृषि अधिकृत काशीराज हमाल, जिल्ला पशुसेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधान, जिल्ला वनस्पती कार्यालयका प्रमुख नरहरी चपागाई, अनुसन्धान तथा समन्वय इकाई प्रमुख वसन्तराज गौतम, सेक्टर इलाकाका सहायक वन अधिकृत राकेश चन्द्रवंशी, सहायक वन अधिकृत मोहन वहादुर खडकासहित स्थानीय संघसंस्थाका प्रमुख एवम् प्रतिनिधीलगायतको उपस्थिती रहेको थियो ।
सरकारले चुरे क्षेत्रलाई संवेदनशील र जोखिमपुर्ण क्षेत्र ठहर गर्दै यसको दोहन रोक्न प्राकृतिक, वातावरणीय, भौगोलिक र आर्थिक रूपले संवेदनशील भएकाले सर्वसाधारण, नीति–निर्माता र योजनाकारलाई यसको महत्व बुझाउन चुरेक्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको छ । भू–क्षय, अत्यधिक वर्षा, भूकम्पीय जोखिम, अत्यधिक दोहनले मुलुकको झन्डै ५० प्रतिशत जनसंख्याको आधारभूमि चुरेविनाश भइरहेकाले चुरे क्षेत्र भएर बग्ने नदी प्रणाली संरक्षण आवश्यक रहेको कार्यक्रमका वक्ताहरुको भनाई छ ।
