हुप्रलाई व्यवस्थित खेलमैदान बनाइनुपर्ने
हेटौँडा,१८पुस/हेटौंडाको मुटुमा रहेको लोकतान्त्रिक चौर (हुप्र) लाई खेल मैदानसंगै बहुपयोगी स्थलका रुपमा विकास गर्नुपर्नेमा सबैले जोड दिएका छन् ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सर्वपक्षीय छलफलमा जिल्लामा क्रियाशिल प्रमुख राजनीतिक दलका प्रतिनिधी एवम् अन्य सरोकारवालाले यस्तो बताएका हुन् । हेटौंडा नगर विकास समितिको स्वामित्वमा रहेको चौरलाई खेल अभ्यासको व्यवस्थित स्थलका रुपमा विकास गर्न चौरको एकातर्फी ढोका मात्र खुल्ला गर्नुपर्ने सवै सहभागीको सुझाव छ ।
कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य अनन्तप्रसाद पौडेलले चौरमा क्रिकेटको पीच, एथलेटिक्स ट्रयाक, फुटबलका लागि व्यवस्थित संरचना बनाउनुपर्ने भनाई राखे । मर्निङ्वाक गर्ने देखी बेलुकाको समयमा चौरमा जम्मा भएर भजनकिर्तन गरेर बस्ने ज्येष्ठ नागरिकलाई समेत उपयोगी बनिरहेको चौरमा खेलकुदको संरचना निर्माणमा आफ्नो तर्फबाट सहयोग गर्ने उनले प्रतिबद्घता जनाए । कार्यक्रममा नेपाली काङग्रेस मकवानपुर तीन नम्बर क्षेत्रीय सभापति प्रदीप कोइराला, एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, एमाओवादी मकवानपुरका ललित घलान, राप्रपा नेपाल मकवानपुरका बरिष्ठ उपाध्यक्ष रामहरि न्यौपाने, नेकपा माले मकवानपुरका सचिव भीमसेन महत, खेलकुद विकास समितीका पूर्व अध्यक्ष एव लोकतान्त्रिक चौर व्यवस्थापन समितिका संयोजक हरिबोल महत, बालकृष्ण चौलागाई, हेटौडा नगरविकास समितिका अध्यक्ष राजिव सुवेदी, फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठ, हुप्रचौर सरोकार समितिका अध्यक्ष दीपक खड्कालगायतले चौरलाई व्यवस्थित बनाउने विषयमा आफ्नो धारणा राखेका थिए ।
उनीहरुले चौरमा हु“दै आएको मेला उत्सवजस्ता कार्यक्रमका लागि विकल्प खोज्ने, चौरको सरसफाई तथा संरक्षणका लागि सरोकारवालाहरुका बीच समन्वय गर्ने लगायत विषयमा जोड दिएका थिए । कार्यक्रम खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको हो ।

