यू–२३ फुटबलमा मकवानपुरका चार खेलाडी
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार घोषणा गरेको २३ बर्ष मुनिको फुटबल टोलिमा मकवानपुरका एलेन न्यौपाने, अञ्जन विष्ट, सुनिल बल र रञ्जन बिष्ट अटाएका हुन् । एलेन गोलकिपर, अञ्जन र सुनिल मिडफिल्डर तथा रञ्जनले फरवार्ड पोजिसनबाट खेल्नेछन् ।
अञ्जन र रञ्जन दाजुभाई हुन् । पछिल्लो समय राष्ट्रिय फुटबलमा मकवानपुरका खेलाडीको सहभागिताले
राम्रो स्थान पाउ“दै आएको छ । यसबाट मकवानपुरका खेलप्रेमी एवम् उदयीमान खेलाडीलाई समेत थप हौसला थपेको फुटबल संग आबद्ध संघसंस्थाका प्रतिनिधीहरुको भनाई छ । एन्फाले घोषणा गरेको खेलाडीमा गोलकिपर तर्फ एलेनसहित विकेश कुथु र अमृत चौधरी छन् भने डिफेन्स्मा रबिन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र मानबहादुर तामाङ छन् ।
यस्तै मिडफिल्डमा अञ्जन र सुनिल सहित विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, जाङबु शेर्पा, प्रकाश बुढाथोकी र तेज तामाङ छन् भने फरवार्डमा रञ्जनसहित नवयुग श्रेष्ठ, बिमल घर्ती मगर र सुमन लामा छन् । एन्फाले घोषणा गरेको टिममा अनिल गुरुङ, रोहित चन्द र गोलकिपर किरण चेम्जोङ समावेश छैनन् । चन्द मलेसियाली क्लवमा सम्झौता गर्न क्वालालम्पुर पुगेका छन् । २३ वर्ष मुनिको धेरै खेलाडीलाई स्थान दिएका कारण सिनियर खेलाडीले बंगबन्धु गोल्डकपमा मौका नपाएका हुन् । अनिलको अनुपस्थितिमा विराज महर्जनले नेपालको कप्तानी गर्ने छन् । मुख्य प्रशिक्षक प्याट्रिक एजम्स साफ च्याम्पियनसिप फुटबल लगत्तै युरोपतिर लागेका कारण एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षक र उपेन्द्रमान सिंहलाई गोलकिपर प्रशिक्षक बनाएको छ ।
बंगबन्धु गोल्डकपको समूह ‘ए’मा रहेको नेपालले ९ जनवरीमा मलेसिया विरुद्ध, १२ जनवरीमा श्रीलंकाविरुद्ध र १४ जनवरीमा आयोजक बंगलादेशविरुद्ध खेल्ने छ ।

