न्यानो माया अभियान जारी
हेटौँडा,१८पुस/भूकम्प पीडित र हटौंडा–कर्राको श्रमिक स्कूलको चौरमा बस्दै आएका सुकुम्बासीलाई न्यायो कपडा सहयोग गर्ने उद्देश्यले हेटौंडाका पा“चवटा यूवा समूहले थालेको न्यानो माया अभियान जारी रहेको छ ।
शुक्रबारबाट सुरु भएको अभियानटोलीले भूकम्प पीडित र सुकुम्बासीको निम्ति प्रयोगमा ल्याउन मिल्ने पुरानो कपडा संकलन गरिरहेको छ । विवेकशील सर्भिस क्लव, इन्सपायर हेटौंडा, एडुभिजन यूथ क्लव, लियो क्लव अफ हेटौंडा र लियो क्लव अफ लर्ड बुद्धको संयुक्त आयोजनामा सञ्चालन भैरहेको यस अभियान टोलीले शनिबार हेटौंडाको हुप्रचौर र पशुपति मन्दिर क्षेत्रबाट न्यानो कपडा संंकलन गरेको छ । ‘यो जाडो समयमा भूकम्प पीडित र सुकुम्बासीको अवस्था निकै दयनीय रहेको छ, हामी युवाले मिलेर केही सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ न्यानो माया नाम दिइएको यो कार्यक्रम सञ्चालन गरिरहेका हौ“, न्यानो माया अभियानका सदस्य रोहित गुप्ताले भने, ‘प्रयोगमा ल्याउन मिल्ने खालका कपडाहरु त्यो लगाउन मिल्ने होस् वा ओढ्न ओछ्याउन मिल्ने नै किन नहोस्, त्यस्ता खालका कपडा सहयोग गर्नका निम्ति सबैलाई अनुरोध समेत गर्दछौ“ ।’
कपडा संकलन अभियान एकहप्तासम्म सञ्चालन हुने उनको भनाई छ । यसै अभियानको दोस्रो चरणमा आर्थिक समेत संकलन गर्ने निर्णय भएको गुप्ताले जानकारी दिए ।
