अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल फागुन १ बाट
हेटौँडा,२६पुस/बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी काठमाडौंमा निधन भएका मकवानपुरे खेल पत्रकार सुमन भोम्जनको स्मृतिलाई ताजै राख्दै उनले खेल पत्रकारितामा पु¥याएको योगदानलाई जीवित राख्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो साताबाट सुरु हुने भएको छ ।
नाकाबन्दीका कारण स्थगित प्रतियोगिता फागुन १ गतेदेखि ८ गतेसम्म हुने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) संगको छलफल र समन्वय पश्चात् फागुन १ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितासम्बन्धी अन्यौलता रहेको बखत गत साता (एन्फा) केन्द्रीय कार्यसमितिको हेटौंडा भ्रमणका क्रममा प्रतिष्ठानसंग छलफल भएको
थियो । छलफलमा आग्रहलाई मध्यनजर गर्दै एन्फाले पुस २४ गते प्रतिष्ठानलाई पत्राचार गरी प्रतियोगिता गर्न समयतालिका उपलब्ध गराएको हो ।भूकम्पमा परी काठमाडौंमा निधन भएका मकवानपुरे खेलपत्रकार भोम्जनको स्मृतिमा मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म गर्ने भनिएपनि नाकाबन्दीका कारण अनिश्चितकालका लागि खेल स्थगित गरिएको थियो । आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले एन्फासंग निरन्तर छलफल पश्चात् प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।
प्रतिष्ठान अध्यक्ष भेष खड्कीका अनुसार अन्तर्राष्ट्रियस्तरको आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा गर्ने तय भएको छ । प्रतियोगिताका लागि मैदान मर्मत तथा अन्य कार्यहरु धमाधम अगाडि बढिरहेको खड्कीले बताए । प्रतियोगितास्थलमा करिब पँ“चसय जना अट्ने अस्थायी प्याराफिट बनाउने तयारी आयोजकले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खड्कीले प्रतियोगिताका लागि प्रायोजन गर्न तयार रहेका व्यावसायिक प्रतिष्ठानहरुसंगको छलफल र निरन्तर सहकार्य भइरहेको भन्दै देशमा विस्तारै आपूर्ति व्यवस्था सहज भइरहेको र विभिन्न स्थानमा प्रतियोगिता भइरहेका कारण यहा“ प्रतियोगिता गर्ने तयारी गरिएको बताए । प्रतियोगिताको तयारीको क्रममा हालसम्म बनविज्ञान अध्ययन संस्थानस्थित खेलमैदान सुधारको कार्य भइरहेको, एक मुख्य प्रायोजक, दुई सहप्रायोजक र सहयोगी संस्था तीनवटाले सहयोगको प्रतिवद्धता जनाएको प्रतिष्ठान महासचिव सविन न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार प्रतियोगितामा सहभागिता जनाउन थ्रीस्टार, झापा–११, भारतको कञ्चनजंघा, भुटानको सीएमसी, तीन वटा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीको नेपाल पुलिस क्लबले प्रतिवद्धता जनाइसकेको र घरेलु टिमका खेलाडी छनौटको चरणमा छ । प्रतियोगिता विजेताले नगद तीनलाख रुपै“या र दोस्रो हुनेले नगद एकलाख ५० हजार रुपै“या प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीहरुलाई नगदसहित सम्मानित गरिने र हरेक खेलमा म्यान अफ दी म्याचको व्यवस्था गरिएको आयोजकले जनाएको छ । हेटौंडा–१० स्थायी बसोबास गरी खेलकुद पत्रकारिताका क्षेत्रमा क्रियाशील भोम्जनको वैशाख १२ गतेको भूकम्पमा परेर निधन भएको थियो । गोरखापत्र संस्थानमा आवद्ध पत्रकार भोम्जन खेलकुद पत्रकार मञ्च मकवानपुरका संस्थापक अध्यक्ष समेत थिए ।

