‘सहकारीको आडमा एमालेको राजनीति’
सल्लाहकारको मान्छे नराख्दा यस्तो भयो ः अध्यक्ष
हेटौँडा, २० बैशाख/मकवानपुरको हाँडीखोलामा रहेको साना किसान सहकारी संस्था लिमिटेडले नेकपा एमाले निकटका व्यक्तिका छोराछोरी र सहकारीका पदाधिकारीको छोराछोरीलाई मात्र इजरायल पठाउन लागेको भन्दै स्थानीयले बिरोध गरेका
छन् ।
छन् ।
शेयर सदस्यका छोराछोरी मध्ये प्रत्येक बर्ष १० जनालाई कृषि बिषय अध्ययन गराउन एक बर्षको लागि इजरायल पठाउँदै आएकोमा यस बर्ष छनौट भएका अधिकांश एमालेका नेता,
सहकारीका पदाधिकारी र कर्मचारीका छोराछोरी तथा आफन्त रहेको भन्दै सहकारी कै सल्लाहकारले बिरोध गरेका छन् ।
सहकारीका सल्लाहकार नरहरी नन्दन उप्रेतीले छनौट भएका परीक्षार्थीको बिषयमा आफूलाई धेरै गुनासो आएको बताउँदै भने, ‘सहकारीका केही पदाधिकारीले धाँदली गरेर आफ्ना नातेदारलाई मात्र इजरायल पठाउन लाग्यो भन्ने जनगुनासो आएको छ ।
अन्तरवार्ता लिनको निम्ति समेत कुनै कमिटी बनाएको छैन भन्ने गुनासो छ ।’ सहकारीमा आबद्ध महिलाबाटै नाताबाद, कृपाबाद एवम् राजनीतिक आग्रह पुर्वाग्रहबाट परीक्षार्थी छनौट गरेको उप्रेतीको भनाई छ । ‘छनौट भएका मध्ये अधिकांश एमालेका छोराछोरी भन्ने कुरो छ’, उनले भने,‘सहकारीमा आबद्ध महिलाहरुले आफूहरुलाई यस बिषयमा कुनै सूचना नै नभएको भन्दै बिरोध गरिरहेको अवस्था छ ।’
यस्तै अर्का सल्लाहकार गोपाल पौडेलले यस बर्ष छनौट भएका परीक्षार्थीको बिषयमा व्यापक गुनाो आइरहेको प्रतिक्रिया दिए । ‘सहकारीले विगत तीन बर्षदेखि नै कृषि तालिमको लागि भन्दै मान्छे लैजाने गरेको हो । यस बर्ष सहकारी सञ्चालक समिति र कर्मचारीका आफन्त र एमालेका नेताहरुको छोराछोरीलाई छनौट गरेको भन्ने गुनासो छ’, पौडेलले भने, ‘यस बिषयमा सहकारीका सदस्यहरु नै असन्तुष्ट रहेका छन् । राम्रो अवसर आयो भने हुनेखानेलाई मात्रै हुने रहेछ भन्दै सहकारी छोड्ने सम्मको चेतावनीहरु आइरहेका छन् ।’
आफूहरु सहकारीको सल्लाहकार भएपनि परीक्षार्थी छनौट भैसकेपछि मात्र जानकारी भएको उनको भनाई छ ।
इजरायल लैजाने बिषयमा जानकारी समेत फेसबुकबाट गराएको भन्दै उनले धेरै वडाका महिला सदस्यलाई यस बिषयमा अझै जानकारी नै नभएको उनको भनाई छ । यस बिषयमा सहकारी अध्यक्ष राधिका ठकुरीसंग बुझ्दा तपाईंहरुलाई किन जानकारी हुनुप¥यो भन्दै फोन राखिदिएको सल्लाहकार पौडेलले जानकारी दिए । यस बिषयमा सहकारी अध्यक्ष राधिका ठकुरीले संस्थाबाट कुनै गल्ति नभएको दावी गर्दै नियम सम्बत् नै एकजना बैकल्पिक सहित १० जनाको छनौट गरिएको बताइन् ।
‘३४ जनाको निवेदन आएकोमा हामीले १० जनालाई छनौट गरेका छौँ’, अध्यक्ष ठकुरीले भनिन्, ‘हाम्रोमा कुनै सोर्सफोर्स लाग्दैन । यस बिषयमा सहकारीका पदाधिकारीसंग बुझ्दा पनि हुन्छ ।’ इजरायलको छनौटको बिषयमा प्रत्येक वडामा खबर पठाएको दावी गर्दै उनले आफूबाट कुनै गलत नभएको दोहो¥याइन् । ‘कार्यालयमा आएर छनौटको विधि प्रक्रिया हेर्न सकिन्छ । बोर्डमा सोध्दा पनि हुन्छ । छनौटको छुट्टै विधि र प्रक्रिया रहेको छ’, उनले भनिन् ।
उनले सल्लाहकारबाट आफ्नो मान्छे राखिदिनको निम्ति दवाव आएको र त्यो नमानेका कारण यस बिषय सञ्चार माध्यमसम्म पुगेको बताइन् । हाँडीखोलाको प्रत्येक वडामा शेयर सदस्य रहेको यस सहकारीको दुइहजार भन्दा बढि सदस्य रहेको छ ।
