लक्ष्मीमाया स्मृति भलिबल २८ गतेबाट
हेटौँडा, २० बैशाख/बसामाडी जेसीजको आयोजनामा विगत १४ बर्षदेखि सञ्चालन हुँदै आएको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुला रनि· शिल्ड भलिबल प्रतियोगिता–२०७३ यहि वैशाख २८ गतेबाट हेटौंडामा हुने भएको छ ।
प्रतियोगिताको बिषयमा जानकारी दिनको निम्ति सोमबार आयोजक बसामाडी जेसीजले पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)मा हुने प्रतियोगितामा जिल्लाका करिब १२ टोलीको सहभागिता रहने बताएको हो ।
आयोजक जेसीज अध्यक्ष सुनिल दाहालका अनुसार यस बर्षबाट पुरस्कार राशीमा समेत बृद्धि गरिएको छ । १४ वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको प्रतियोगिताको प्रायोजक स्वर्ण भण्डार हेटौँडाका सञ्चालक ज्योतिरत्न बज्राचार्यले गर्दै आएको प्रतियोगिताले खेलाडी उत्पादन गर्न र भलिबलको क्रेज बढाउन सफल भएको भन्दै अध्यक्ष दाहालले खुशी व्यक्त गरे ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपियाँ र उपविजेताले नगद २५ हजार रुपियाँ प्राप्त गर्ने प्रायोजक तथा जेसीजका अध्यक्ष सल्लाहकार ज्योतिरत्न बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रायोजक बज्राचार्यका अनुसार यसवर्ष प्रतियोगिताको ट्रफीलाई आकर्षक रुपमा डिजाइन गरिएको छ । गतवर्ष लगतार तीनपटक प्रतियोगिता जित्दै जेनिथ कलेज हेटौंडा च्याम्पियन भएसँगै उपाधि कब्जा गरेको थियो ।
प्रतियोगितालाई व्यवस्थित तवरबाट सञ्चालन गर्नका लागि सरोज अधिकारीलाई कार्यक्रम संयोजक र
करण महत्रा र स्वयम्भु शाक्यलाई सह कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको कार्यकारिणी उपाध्यक्ष हरि शर्माले जानकारी दिए ।
जेसीजले पत्रकार सम्मेलनकै अवसरमा स्थापना दिवस मनाएको छ । जेसीज अध्यक्ष दाहालले केक काटेर स्थापना दिवस मनाएका थिए । कार्यक्रममा सहभागीहरुलाई पूर्वअध्यक्ष राजकुमार जोशीले स्वागत गरेका थिए ।
