‘नक्सा बमोजिम ट्रयाक नखोल्दा समस्या’
हेटौँडा, १८ जेष्ठ/मकवानपुरको विकट भार्ता गाविसका केही स्थानीयले चुनिया–नामटार–कालिकाटार–भार्ता–
राक्सिराङ–खैराङ जोड्ने क्षेत्रीय सडक नक्सा भन्दा बाहिरबाट ट्रयाक खोल्ने काम भैरहेकोले समस्या परेको बताएका छन् ।
सोमबार हेटौँडामा स्थानीय दुईजनाले पत्रकार सम्मेलन गर्दै नक्सा अनुसार काम नभएको र सहजताको लागि किसानको बारीबाट बाटो लगिएको आरोप लगाएका हुन् । हाल भार्ता ७ र ९ नम्बर वडामा ट्र्याक खोल्दा सर्भे गरिएकोभन्दा बाहिर गएर स्थानीयको खेतबारीको मध्यभागबाट ट्र्याक खोल्ने काम ठेकेदार पक्षले गरेको भन्दै उनीहरुले तत्काल सम्बन्धि पक्षलाई ध्यान दिन आग्रह गरेका छन् ।
भार्ता–७ का करिब २५ घरधुरीको तल्लो भागबाट जानुपर्ने बाटो खेतको मध्ययभागबाट लगेर खेती योग्य जमिन नै विगारिदिएको बताएका छन् । सडकको सर्भेभन्दा धेरै बाहिरबाट जानुपर्ने बाटो निर्माणको ठेक्का पाएको बानियाँ निर्माण सेवाले युवाहरुको परिचालन गरेर गुण्डागर्दी शैलीमा खेतको मध्ययभागबाट लगेको भार्ता–९ का रामलाल थि·को भनाई छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी मानबहादुर बिक र जिल्ला विकास समितिलाई जानकारी गराइएको उनले बताए । ‘सडकको दिशा नै परिवर्तन गराइएको छ । हामीले यसविषयमा जानकारी गराउन खोज्दा जिल्ला प्रशासन कार्यालयले समेत ज्ञापनपत्र बुझ्न मानेन,’ गुनासो गर्दै भार्ता–७ का रामबहादुर थिङले हालको गतिविधि नरोकिने हो भने भार्ताको अन्य वडाहरुमा समेत यस्तो समस्या पर्ने बताए । राक्सिराङ–भार्ता जोड्नका लागि हाल आठ किलोमिटर सडक खन्ने कार्य भइरहेको जनाइएको छ ।
उक्त सडकखण्डको ट्र्याक खन्ने काम राक्सिराङबाट सुरु गरिएकोमा पनि विरोध गरिएको छ । उनीहरुले ठेकेदार कम्पनीका प्रतिनिधीलाई झिकाएर समस्या समाधानमा पहल गरिदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएका छन् ।
