Header Ads


काँग्रेसको विकासबाट अन्य नेता आत्तिए ः बानियाँ

हेटौँडा, १९ बैशाख/नेपाली काँग्रेस मकवानपुरको ठिंगन र मन्थलीमा कार्यकर्ता भेला भएको छ । 
संगठन सुदृढीकरण अभियान सुरु गरेको बताएको काँग्रेसको ठिंगनको भेलालाई सम्बोधन गर्दै सांसद एवम् कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले बर्षौंसम्म झुठको राजनिती गर्नेहरू अहिले कांग्रेसले गाउँमा गरेको विकासबाट आत्तिएको बताएका छन् । 
आफुले जित्दा विकासको नाममा कुनै काम नगर्नेहरू अहिले कांग्रेसको विकास अभियानबाट आत्तिएर आश्वासन बाँड्न गाउँ छिरेको भन्दै सांसद बानियाँले सचेत हुन जनतालाई आग्रह गरे । जनताले मकवानपुर क्षेत्र नम्बर–१ बाट काँग्रेसलाई जिताएपछि कान्तिलोकपथमा एक सय सत्ताईस करोड बजेट पारेर द्रुतगतिमा काम भईरहेको, मन्थलीमा सडकको काम भईरहेको, छतिवन–ठिंगन पिपलडाँडा सडक स्तरिकरण भईरहेको, खानेपानी, सिंचाइ जस्ता विकासका काम अघि बढेको उदाहरण प्रस्तुत गरे । 
बानियाँले सडक सञ्जालबाट पूर्वि मकवानपुरलाई राजधानीसंग जोडेर यस क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार्न आफु लागिपरेको बताए । गाउँ सभापति ईन्द्रबहादुर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सचिव बुद्ध लामा, जिल्ला सदस्यहरू कृष्णप्रसाद दाहाल, भीमबहादुर भोम्जन, आनन्द कठायत, रामबाबु बानियाँ, क्षेत्रीय सभापति दामोदर खनाल, स्थानीय नेता सञ्जय लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा एमालेका पूर्व गाउँ कमिटी उपाध्यक्ष चीनबहादुर रूम्बासहित ३० जनालाई पार्टीको सदस्यता प्रदान गरिएको थियो । कार्यक्रम पछि ठिंगनको आँपचौरमा पार्टी कार्यालय समेत उद्घाटन गरिएको छ । यसैगरी गाउँ सभापति भीमबहादुर घिमिरेको अध्यक्षता र सांसद एवम् कांग्रेस जिल्ला सभापति बानियाँको प्रमुख आतिथ्यतामा मन्थलीमा पनि कार्यकर्ता भेला भएको छ । 
कार्यक्रममा कांग्रेस जिल्ला कोषाध्यक्ष गोपिलाल विक, क्षेत्रीय सचिव सुवास थिङ, स्थानीय नेता सोम तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी त्यागेर २५ जनाले काँग्रेसको सदस्यता लिएका थिए ।
Powered by Blogger.