विप्लव माओवादीद्वारा सडक हाकिमलाई कालोमोसो दल्ने प्रयास
केन्द्रीय निर्देशन अनुसार कार्वाही भएको होला :ज्वाला
![]() | |
| घटनाको बिषयमा जानकारी गराउँदै कमलेशकुमार कर्ण र घटनापश्चातको कर्णको कोठाको अवस्था। तस्विरः प्रदेश दैनिक |
हेटौँडा, १९ जेष्ठ÷डिभिजन सडक कार्यालय मकवानपुरका प्रमुखलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले कालोमोसो प्रहार गरेको छ ।
कालोमोसो दल्ने उद्देश्यका साथ बुधबार दिउँसो कार्यालयमा पुगेको माओवादीका कार्यकर्ताले मोसो दल्ने प्रयास असफल भएपश्चात हाकिम कमलेश कुमार कर्णको शरीरमा कालो फालेर त्यहाँ रहेका सामान समेत फुटाउँदै त्यहाँबाट निस्केको हो । करिब ७÷८ जनाको सङ्ख्यामा कार्यालय पुगेका माओवादीका कार्यकर्ताले कालोमोसो फालेर भागेका हुन् ।
माओवादीले घटनापश्चात कार्यालय परिसरमा फालेको पर्चामा कार्यालय प्रमुख कर्ण भ्रष्ट भएको र जनतालाई दुःख दिने गरेकोले कार्बाही गरेको उल्लेख गरेपनि कार्यालय प्रमुख कर्णले भने माओवादीका नेताले केहीदिन देखि चन्दा माग्दै फोन गरिरहेको आरोप लगाएका छन् । उनले माओवादीका कार्यकर्ताले नै आफूलाई कालोमोसो दल्ने प्रयास गरेको बताए । घटनाको केहीबेर पछि कार्यालय परिसरमा भेटिएका उनले भने, ‘मुखमा मास्क लगाएर आएका मध्ये एउटाले तपाईं हाकिम हो भनेर सोध्यो । माओवादीलाई चन्दा नदिने तैँ हैन भन्दै मेरो शरीरमा कालो फालेर भाग्यो ।’ उनले सुनियोजित रुपमा यो घटना गराइएको भन्दै आफूमाथि भौतिक कारबाहीको प्रयास भएको आरोप लगाए । जीउज्यानको सुरक्षा नभएको भन्दै काम गर्न अप्ठेरो परेको गुनासो गरे । ‘चन्दा कै कारण ममाथि यस्तो गरिएको हो । निकै आक्रमण शैलीमा आएका उनीहरुले यो अवस्था बनाएर गए’, कर्णले भने । माओवादीका कार्यकर्ताले कार्यालय प्रमुख कर्णको कोठामा रहेको प्रिन्टर र फ्याक्स मेसिन समेत फुटाइदिएका छन् । घटना गराएर कार्यालयबाट हिँडेका माओवादीले कार्यालय परिसरमा नेकपा माओवादीद्वारा कारबाही किन ? भन्दै ५ बुँदामा कारबाहीका कारण लेखेको पर्चाहरु छोडेको थियो । पर्चामा निर्माण व्यवसायी संघ घुस लिएको, प्रत्येक योजनको कुल रकममा ३० प्रतिशत कमिसन लिने
गरेको, सडक निर्माण गर्दा गुणस्तरलाई पैसासंग सम्झौता गरेको, सेवाग्राहीलाई विभिन्न वाहना बनाई दुःख दिने गरेको र फर्जी बिलभर्पाई मिलाई ठेकेदारसंग कमिसन लिएको उल्लेख छ ।
पर्चामा बुधबारको घटनालाई चेतावनी कारबाहीको रुपमा परिभाषित गर्दै नसच्चिए कडा कारबाही हुनेसम्मको चेतावनी दिएको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मीरा चौधरीले घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रतिक्रिया दिइन् । यस्तै विप्लव माओवादी मकवानपुरका सेक्रेटरी बीरबहादुर घलान ‘ज्वाला’ले पार्टीको केन्द्रीय निर्देशन अनुसार कारबाही भएको हुनसक्ने प्रतिक्रिया दिए । ‘जनतालाई दुःख दिने, भ्रष्टहरुलाई जनकारबाही गर्ने भन्ने पार्टीको निर्देशन छ’, ज्वालाले भने, ‘मकवानपुरमा यो अभियान साथीहरुले सुरु गरे होलान् ।’
भ्रष्टाचारीहरुलाई नेकपा माओवादीले नछोड्ने बताउँदै उनले यो अभियान अन्य सरकारी एवम् गैरसरकारी कार्यालयसम्म पुग्न सक्ने संकेत गरे । ‘कुन कार्यालयको हाकिम र कुन संस्थाका प्रमुखले के गर्दैछ भन्ने हामीसंग लिस्ट छ’, ज्वालाले भने, ‘उनीहरु सच्चिएनन् भने पार्टीको केन्द्रीय निर्देशन अनुरुपको कारबाही उनीहरुले भोग्नुपर्ने हुनसक्छ ।’

