लोले गरे संघीय समाजवादी परित्यागको घोषणा
हेटौँडा, १९ जेष्ठ÷संघीय समाजवादी पार्टीका संस्थापक केन्द्रीय सदस्य मेम्बर लोले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
बुधबार हेटौडामा पत्रकार सम्मेलन गर्दै उनले विभिन्न कारण देखाउँदै पार्टी छोडेको बताएका हुन् । पार्टीलाई बहृत्तर बनाउने नाउँमा संस्थापनकालीन दृष्टिकोण र सोच परिवर्तन गर्दै बैचारिकभन्दा पनि संसदीय गणिततर्फ ध्यान केन्द्रित गरेको, पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवादलाई परित्याग गर्दै गएको, समानुपातिक, समावेशी चरित्रलाई नीतिगतरुपमा परिच्याग गर्दै गएको, नेपाली समाजको पूर्ण लोकतान्त्रिक चरित्र र समाजवाद उन्मुख राजनीतिबाट च्युतहुँदै क्रमिकरुपमा क्षेत्रीयतावादी राजनीतिमा उन्मुख हुँदै गएको, पार्टी एकीकरणको नाउमा संस्थापक नेताहरुको त्यागलाई नजरअन्दाज गर्दै पाखा लगाउने प्रबृत्ति हाबी हुँदै गएकोले पार्टीमा बसिरहनुको कुनै औचित्य नभएको बताएका हुन् ।
हाल राष्ट्रिय परिषद् सदस्य रहेका उनी संघीय समाजवादी फोरम नेपालसंगको एकता पश्चात पार्टीमा निष्कृय रहँदै आएका थिए । लोले संघीय समाजवादी फोरम कतौबाट निर्देशित भएको आरोप समेत लगाए । यस्तै पार्टी विस्तारितको नाममा विचार समेत छोड्दै गएको उनको भनाई छ ।
‘एमाले छोडेर पनि अन्य पार्टीमा प्रवेश गरेको होइन । नयाँ पार्टी खोलेर अगाडि बढ्ने जमर्को गरेको हँु,’ पत्रकार सम्मेलनमा लोले भने,‘संघीय समाजवादी फोरम पार्टी परित्याग गरी हाललाई स्वतन्त्र राजनीतिक जीवन व्यतित गर्ने घोषणा गर्दछु ।’
हाल कुनैपनि पार्टीमा नजाने भन्दै उनले आवश्यकता अनुसार निर्णय गरेर अघि बढ्ने सुनाए ।
