Header Ads


नेतृत्व कब्जा गर्न ६ जना मैदानमा

हेटौँडा, २४ जेष्ठ/मुलुकको चौथो शक्तिको रुपमा रहेको राप्रपा नेपालको मकवानपुर जिल्ला सम्मेलन आज मङ्गलबार हेटौँडामा हुँदैछ । 
पार्टीको विधानमा जिल्ला परिषद् बैठक नाम दिइएको सम्मेलनले चार बर्षीय कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।  जिल्ला परिषद् बैठकको सम्पूर्ण तयारी सकिएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज बिष्टले जानकारी दिए । पार्टी केन्द्रीय अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा समेत सहभागिता जनाइरहेको अवस्थामा मकवानपुरमा पार्टीको नेतृत्व गर्नका लागि ६ जना नेताहरुले इच्छा देखाएका छन् । 
उनीहरु आफ्नो पक्षमा माहौल सृजना गर्न लागिपरेको पार्टीका कार्यकर्ताको भनाई छ । जिल्लामा पार्टी नेतृत्व गर्नका लागि वर्तमान अध्यक्ष नवराज बिष्ट, पार्टी केन्द्रीय सदस्यद्वय मधु अधिकारी र दीपकबहादुर सिंह, कमल थापाका भाई समेत रहेका सांसद् गणेश थापा, वर्तमान उपाध्यक्ष रामहरि चौलागाईं र किसान संगठनका केन्द्रीय सदस्य बद्री कुँवरले समेत इच्छा देखाएका छन् । बिष्ट, अधिकारी, सिँह, थापा र चौलागाईंको केही समयदेखि नै चर्चा चल्दै आएको हो । कुँवरले पछिल्लो समय आफू पनि अध्यक्षको लागि योग्य रहेकोले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् । 
पछिल्लो समय जिल्लामा पार्टीको गतिविधि समेत बढ्दै गएको, पार्टीप्रति जनताको विश्वास बढ्दै गएको र सरकारमा समेत नेतृत्व गरिरहेको यो अवस्थामा को जिल्ला अध्यक्ष बन्ने र पार्टी चलाउने भन्ने बिषयले केही महिनायता राप्रपा नेपाल मकवानपुरमा ठूलै रस्साकस्सी हुँदै आएको छ । पार्टी केन्द्रीय अध्यक्ष कमल थापाको गृहजिल्ला समेत भएका कारण उनी सर्वसम्मत नेतृत्व चयन गर्ने र चुनाव हुन नदिने मनस्थितीमा रहेको उनी निकट एक नेताले जानकारी दिए । ‘चुनावमा जाँदा हारजित स्वभाविक हुने र हार्नेले जित्नेलाई सहजै स्वीकार गर्न नसक्ने अवस्था आउने भएकाले पनि पार्टी केन्द्रीय अध्यक्ष सर्वसम्मतको प्रयासमा रहनुहुनेछ’, उनले भने । जिल्ला परिषद् बैठकमा जिल्लाभरका ३ सय ३९ प्रतिनिधी पर्यपेक्षकको उपस्थिती रहनेछ । पार्टी जिल्ला अध्यक्ष नवराज बिष्टले पार्टीको आकार ठूलो भएसंगै नेतृत्व लिने चाहना राख्नेको संख्यामा बृद्धि हुनु स्वभाविक भएको बताए । 
‘नयाँ नेतृत्व चयनका लागि सर्वसहमतिको प्रयास हुनेछ । त्यत्ति गर्दा पनि मिल्ने अवस्था आएन भने प्रजातान्त्रिक अभ्यास (चुनाव) हुन्छ’, उनले भने । उनका अनुसार उद्घाटनसत्र सुरु हुनुपूर्व हेटौँडाको हुप्रचौरबाट 
नाराजुलुसहितको ¥यालीले नगरपरिक्रमा गरी कार्यक्रम स्थल पल्पसा हलमा पुग्नेछ । कार्यक्रममा सहभागी हुन पार्टी केन्द्रीय अध्यक्ष एवम् उपप्रधान, परराष्ट्र तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा हेटौँडा आउनेछन् । परिषद् बैठकले ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ । 
एक अध्यक्षसहित १८ जना सदस्यको निर्वाचनबाट टुङ्गो लाग्नेछ भने बाँकी सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा व्यवस्था रहेको छ । पदाधिकारीको हकमा भने बढिमा ३ जना उपाध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष, १ जना प्रवक्ता र २ जनासम्म सहसचिव चयन गर्न पाइने राप्रपा नेपालको विधानमा उल्लेख छ ।
Powered by Blogger.