Header Ads


संघको तेस्रो चौमासिकमा ८ लाख बचत

सुजन ढकाल
हेटौँडा, २४ जेष्ठ/मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आर्थिक वर्ष ०७२÷०७३ को तेस्रो चौमासिक अवधिमा ८ लाख ४१ हजार ७ सय ९६ रुपैयाँ आम्दानी गरेको छ । 
संघले चौमासिक कार्यक्रममा ८ करोड १७ लाख ८१ हजार ९ सय ५३ रुपैयाँ कारोवार गरेकोमा ६ करोड ८२ लाख ९५ हजार ३ सय रुपैयाँ आम्दानी गरेको छ भने ६ करोड ७४ लाख ५३ हजार ५ सय रुपैयाँ खर्च गरेको संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिए । 
उनले यस अवधिमा हेटौँडा दुग्ध वितरण आयोजनालाई १३ लाख ४२ हजार लिटर दूध विक्रि गरी ६ करोड ४२ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको, हेटौँडा डेरीलाई १८ लाख १७ हजार २ सय २४ लिटर दूध विक्रि गरी ९ करोड १३ लाख ५० हजार रुपैयाँ संघले आर्जन गरेको जानकारी दिए । त्यसैगरी संघबाट अन्य निजी डेरीहरुलाई १२ लाख ५ हजार ६ सय ४६ लिटर दूध विक्रि गरी ६ करोड ५ लाख २५ हजार रुपैयाँ र संघको काउन्टरबाट स्थानीयलाई २ लाख १६ हजार ३ सय १४ लिटर दूध विक्रि गरी १ करोड २६ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको दाहालको भनाई छ । संघले आर्थिक वर्षमा हात्तिसुँढे संस्था छतिवनमा गुणस्तरीय दुग्ध उत्पादन सम्बन्धि एक दिवसिय कार्यक्रम, मंसिर १० गते जिल्ला स्तरीय सहकारी ऐन–नियम, मापदण्ड एव्म कर विषयक एक दिवसिय गोष्ठि र चैत २३ देखि २६ गतेसम्म सदस्य संस्थाका ३२ जना संचालकहरुको अन्तर जिल्ला सहकारी अध्ययन अवलोकन भ्रमणको कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष बासुदेव अधिकारीले जानकारी
दिए । 
अधिकारीले यसवर्ष भारतले गरेको नाकाबन्दीले गर्दा २४ दिन दूधको कारोबार ठप्प भएतापनि गत वर्षको तुलनामा ८ लाख लिटर दूध विक्रि गर्न सफल भएको बताए । ‘आर्थिक वर्षमा दूधलाई गुणस्तर बनाउनको निम्ति एनालाइजरको माध्यमबाट दूध मापन गर्ने गरेको बताउँदै अधिकारीले भने–‘संघमा आवद्ध ५४ वटा प्रारम्भिक दूध संस्थामा ४८ वटा संस्थामा एनलाइजरको प्रयोग भइरहेको छ ।’ 
एकवर्षको अवधिमा दूधलाई गुणस्तर बनाउनको निम्ति दूध चिस्यान केन्द्र तथा किसानहरुलाई सचेतनाको कार्यक्रम गर्दै आइरहेको उनको भनाई छ । 

सुत्केरी गाई भैँसीलाई औषधी वितरण 
हेटौँडा/जिल्ला पशु सेवा कार्यालय मकवानपुरको आयोजना तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा सोमबार मनहरी गाविसमा रहेका साना किसान सहकारी संस्थामा सुत्केरी गाई भैँसीलाई औषधी वितरण गरेको छ । 
संस्थाका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । सुत्केरी गाईलाई ठूलो रोग लाग्नबाट रोक्ने उद्देश्यले मकवानपुर जिल्लाका चारवटै क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिए । तीनवटै क्षेत्रमा कार्यक्रम सम्पन्न भइसकेको र आज ९मंगलबार० क्षेत्र नम्बर–१ मा कार्यक्रमको आयोजना रहेको उनको भनाइ छ । कार्यक्रममा जिल्ला पशु कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधान, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.