वातावरण दिवसमा विविध कार्यक्रम
हेटौँडा, २३ जेष्ठ/ ४४ औँ विश्व वातावरण दिवसको अवसरमा मकवानपुर जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
वातावरण दिवसको अवसर पारेर हेटौँडा २ स्थित श्रीदेवी निम्न माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक मिलेर विद्यालय परिसर लगायत वनस्खण्डी क्षेत्र सरसफाइ गरेका छन् । विद्यालय अगाडिको बाटोमा रहेको छाडी फडान र बाटो सफा गरिएको विद्यालयका प्रधानाध्यापक नवराज पौडेलले जानकारी दिए ।
विद्यार्थीलाई जंगल तथा वातावरण सफा राख्ने विषयमा जानकारी समेत गराइएको थियो । यसरी वातावरण सम्वन्धि एक दिनको दिवस मनाउनु भन्दा पाठ्यक्रममा समावेश गरेर शिक्षण गर्न सके वातावरण क्षेत्र सुधारमा टेवा पुग्ने विद्यालयकी फोकल शिक्षिका सुभद्रा अधिकारीले बताइन् । त्यसैगरी मकवानपुर रिकभरि· ग्रुपले पनि वातावरण दिवसको अवसरमा आइतबार बाटो सरसफाई गरीएको छ। हेटौँडा–४ पुष्पलाल पार्क नजिक रहेको लट्टिनाथ मार्गमा ग्रुपले बाटो सरसफाई गरेको संस्थाका सचिव सन्दिप शाक्यले जानकारी दिए । ग्रुपले हरेक महिना टोल सरसफाई कार्यक्रम गरीरहेको छ ।
संस्थामा उपचार लिइरहेका संस्थाको उपचार पश्चात संस्थामा भोलेटरि· गरीरहेको दाजू, भाइको सहयोगमा कार्यक्रम सञ्चालन गरीरहेको उनको भनाइ रहेको थियो । त्यसैगरी मकवानपुरको उत्तरीक्षेत्र स्थित थाहा नगरपालिका १ ओखर बजार र थाना बजारमा आइतबार सरसफाई कार्यक्रमको आयोजना गरीएको थियो । थाहानगरपालिकाको १ ओखर बजार र थानाबजारमा सरसफाई कार्यक्रम भएको छ । थाहा नगरपालिकाको मूख्य आयोजना तथा ओखर बजार व्यवस्थापन समिति र थाना बजार व्यवस्थापन समितिको सहकार्यमा सरसफाई कार्यक्रम गरिएको हो ।
थाहा ७ को थानाबजारमा रहेको पालुङ बहुउद्देशीय सहकारी संस्था अगाडिबाट सुरु गरिएको सरसफाई कार्यक्रम थाहा १ को ओखर बजारको झम्केश्वरी मावि जाने बाटोमा पुगेर समापन गरिएको हो । सरसफाई कार्यक्रम नेपाली सेना, नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र पालुङ, बजार व्यवस्थापन समिति ओखरबजार, थाहाबजारका स्थानीयवासीहरुको सहभागिता रहेको थियो । यस्ता सचेतनामूलक कार्यमा उपभोक्ता आफै सचेत भएर लाग्नु पर्ने र थाहा नगरपालिकाको सदैव साथ र सहयोग रहने नगरपालिकाले जनाएको छ ।
सरसफाई कार्यक्रममा थाहा नगरपालिकाका वातावरण तथा फहोरमैला व्यवस्थापन अधिकृत न्युटन महर्जन, प्रशासन शाखा प्रमुख अनिल लामिछाने, सूचना शाखा प्रमुख सुरजकुमार भुजेल, लेखापाल दिपक गजुरेल, बिनोद कार्की लगायतकाको उपस्थिती रहेको थियो ।
नगरपालिकाले संयूक्त वडा सेवा केन्द्र पालुङ र बज्रवाराहीमा वृक्षारोपण गरेको छ । ‘हाम्रो जीवजन्तु हाम्रो वातावरण र वन, संरक्षण गरौँ लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराको साथ मनाइएको विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिएको हो ।
स्थानिय राजनीतिक दल, नगरपालिकाका कर्मचारी, तथा समुदायको सहभागितामा तेजपत्ता, धूपी र फूलका विरुवा गरी १ सय विरुवा रोपिएको नगरपालिकाले जानकारी दिएको छ ।
