Header Ads


शास्त्रीय संगीतमा झुमे मकवानपुरे

हेटौँडा, २७ जेष्ठ/नेपाली संगीत संरक्षक तथा प्रबद्र्धक समूहको आयोजनामा हेटौँडामा शास्त्रीय संगीत तथा साहित्यको संगममय साँझ भएको छ । 
बिहीबार हेटौँडाको ओम हलमा शास्त्रीय संगीत एवम् मुक्तक वाचन कार्यक्रम भएको हो । शास्त्रीय संगीतको संरक्षण तथा प्रबद्र्धनको निम्ति भन्दै आयोजना गरिएको कार्यक्रममा मकवानपुरेले शास्त्रीय संगीतको मज्जा लिएका छन् । आयोजक संगीत संरक्षक तथा प्रबद्र्धक समूहका संस्थापक अध्यक्ष उत्तम रिमालले जहाँ छन् बुद्वका आँखा... बोलको गीतबाट सुरु गरेको कार्यक्रममा जोनीसा पौडेलको शास्त्रीय गीतमा सबै मन्त्रमुग्ध बनेका थिए । पौडेललाई रबीलाल श्रेष्ठले तबलामा, मकवानपुरको हाँडीखोला–६ लामिटारकी सरस्वती अधिकारीले तानपुरा र श्री केसीले हार्मोनियम बजाएर साथ दिएका थिए । यस्तै धनबहादुर गुरुङको बाँसुरीको धुनमा सबै लठ्ठ परेका थिए । 
उनले केही गीतको भाका र केही शास्त्रीय धुन प्रश्तुत गरेका थिए । यस्तै कार्यक्रममा साहित्यकार राजेन्द्र थापाले समसामयिक बिषयवस्तुमा व्यङ्ग्यात्मक मुक्तक प्रश्तुत गरेका थिए । झण्डै आधा घण्टा स्टेज लिएका उनले राजनीति, सामाजिक कुसंस्कारलगायतका बिषयमा आफ्नो मुक्तक मार्फत व्यङ्ग्य गरेका थिए । थापाको व्यङ्ग्यमा ‘वान्स मोर’ भन्दै तालि बजाउनेहरुको कमी थिएन । हेटौँडामा पहिलो पटक शास्त्रीय कार्यक्रमको आयोजना गरिएको आयोजकको दावी रहेको छ ।
Powered by Blogger.