Header Ads


नयाँ वडामा उत्तिकै प्रभावकारी कार्यक्रम आवश्यक

गणेशदर्पण अधिकारी
फाइल तस्विर
हेटौँडा, २७ जेष्ठ/पछिल्लो समय हेटौँडा उपमहानगरपालिकाको वडाहरुलाई धमाधम बालश्रम मुक्त घोषणा कार्यक्रम सञ्चालन भैरहेको छ । 
सन् २०२० को अन्त्यसम्ममा मुलुकलाई नै बालश्रम मुक्त बनाउने राज्यको योजनालाई सार्थक तुल्याउनको निम्ति हेटौँडा उपमहानगरपालिकाले विभिन्न सरोकारवाला सरकारी एवम् गैरसरकारी निकायसंगको सहकार्यमा हेटौँडामा यो अभियान सञ्चालन गरिरहेको हो । साविकको हेटौँडा नगरपालिकाको केही वडालाई बालश्रम मुक्त घोषणा गरेपश्चात अहिले उपमहानगरपालिकामा गाभिएको संयुक्त वडा कार्यालय केन्द्रीत कार्यक्रम भैरहेको छ । 
पछिल्लो पटक संयुक्त वडा कार्यालय हटिया र हर्नामाडीलाई घोषणा गरिएको छ । यी दुई कार्यक्रमलाई सरसर्ती नियाल्दा साविकको वडालाई भन्दा कम महत्व दिइएको हो की जस्तो देखिन आएको छ । हामीलाई थाहा छ, साविकको वडामा भन्दा पछि नगरमा गाभिएको वडाहरुमा निकै कम बालश्रमिक रहेका छन् । नगरमा गाभिएको हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र बसामाडी शहरीकरणतर्फ उन्मुख क्षेत्र हुन् । यस क्षेत्रमा कलकारखाना, उद्योग अन्यत्र भन्दा कमी नै छ, यसकारण पनि यस क्षेत्रमा बालश्रमिक कम रहेका छन् । यसो भन्दैमा यस क्षेत्रलाई वेवास्ता गर्दै घोषणा कार्यक्रमलाई आलटाल गर्न  मिल्दैन । 
बढ्दो शहरीकरणसंगै विस्तारै यस क्षेत्रमा उद्योगधन्दा र कलकारखाना अवस्य खुल्नेछन र यस क्षेत्रमा पनि बालश्रमिकको प्रयोग बढ्ने नै छ । अहिल्यै यस क्षेत्रमा जनचेतना फैलाउँदै बालश्रमिक प्रयोग गर्दा हुने असर र प्रभावको बिषयमा स्थानीयलाई जानकारी गराउन सकियो भने पछि फेरि यस्तै बालश्रम मुक्त घोषणा कार्यक्रम गरिरहनु आवश्यक नै पर्दैन । 
अहिले यस क्षेत्रमा बालश्रमिक छैनन् भन्दैमा घोषणा कार्यक्रमलाई तीव्र पार्ने, सामान्य झारो टार्ने काम गरियो भने यसको असर पछि हामी आफैँलाई नपर्ला भन्न सकिन्न । घोषणा कार्यक्रमले वास्तव मै सार्थक रुप लिने छ । यसतर्फ हेटौँडा उपमहानगरपालिका, यो अभियानमा साथ दिइरहेको अन्य सरकारी निकाय र गैरसरकारी संस्थाहरु बालकल्याण समाज, प्लान इन्टरनेशनल र सिविन बालहेल्पलाइनलगायतका संस्थाले यस बिषयमा बेलैमा ध्यान पु¥याउनु आवश्यक छ ।
Powered by Blogger.