८४ बर्षीयद्वारा स्वास्थ्यचौकीलाई जग्गा सहयोग
हेटौँडा, ६ असार/ मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको विकट गाविस खैराङका एक बृद्धले स्वास्थ्यचौकीको लागि करिब पाँचलाख रुपैँया बराबरको जग्गा दान गरेका छन् ।
खैराङ–२ का ८४ बर्षीय डम्बरध्वज मल्लले गाउँमा निर्माण हुन लागेको १० कोठे अपांगमैत्री भवन निर्माणमा सभाउ पु¥याउने उद्देश्यका साथ दुई रोपनी जग्गा सहयोग गरेका हुन् । श्रीमतिको स्मृतिमा स्वास्थ्यचौकीको लागि जग्गा सहयोग गरेका दाता डम्बरध्वजका भतिज राजकुमार मल्लले जानकारी दिए ।
‘खैराङमा निर्माण हुँदै गरेको स्वास्थ्यचौकीको लागि करिब पाँचलाख रुपैँया बराबरको जग्गा सहयोग भएको छ’, राजकुमारले भने, ‘पुनर्निर्माण प्राधिकरणले बनाउन लागेको १० कोठे अपांगमैत्री भवनको लागि जग्गा दिइएको हो ।’ खैराङ–२ मा रहेको स्वास्थ्यचौकीको भवन नाजुक अवस्थामा रहेको उनको भनाई छ । खैराङ स्वास्थ्यचौकीमा खैराङसहित धादिङको महादेवस्थान ताल्ची गाविसका दुईवटा वडा, काँकडा गाविसको एउटा वडा, राक्सिराङको १ नम्बर र ७ नम्बर वडा, भार्ताको ९ नम्बर वडा तथा सानो डाँडाखर्कका बासिन्दा समेत स्वास्थ्य सेवा लिन आउने गरेका छन् । सुविधा सम्पन्न १० कोठे अपांगमैत्री भवन निर्माण भएपश्चात स्वास्थ्यसेवा थप प्रभावकारी हुने स्थानीयको विश्वास रहेको छ ।
