थाहा, शिक्षा र विकास
![]() |
| बैकुण्ठ ढकाल |
भर्खरै एसएलसीको नतिजा सार्वजनिक भएको छ । यसले नेपालको शिक्षाको स्तर र यसको सुधारको बारेमा बहस गर्माएको छ । नेपालमा जे जे सिजन शुरु हुन्छ, त्यसकै बहस हुन्छ । पानीको फोका जस्तै एक छिनमा उठ्छ अनि केहिबेरमै बिलाई जान्छ । एसएलसी पछिको बहसमा पनि हुने यस्तै हो । फेरि अर्को बर्ष पनि हुने त्यही नै हो । शिक्षाको कुरा गर्दा पहिले बालबालिकालाई बिद्यालय पु¥याउनु प¥यो । बालबालिकालाई बिद्यालय पठाउन पहिले अभिभाबकलाई राजी गराउनु पर्ने भयो । यसको लागि थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टले शैक्षिक जागरण नै चलाए । छोराछोरी पढाउने अभिभाबक जिन्दाबाद, छोराछोरी नपढाउने आमाबाबु मुर्दाबाद । बिष्टले नारा नै लगाउन थाले । अभिभाबकहरु अभियानमा सहभागी हुनुको साटो बिरोध गर्न थाले, मेरा
छोराछोरी पढाउँ कि नपढाउँ तँलाई के मतलब भन्ने आशयका आवाजहरु पनि उठ्न थाले । त्यस्तो भएपछि गाउँमा अभिभाबक भेला बोलाए, बिष्टले । अभिभाबक भेलामा बिष्टले भने तिमीहरुका छोराछोरी नपढे, चोर, फटा, डाँका हुन्छन, बेइमान, बेकामी हुन सक्छन । चोर, डाँका भए भने तिनीहरुले सबैभन्दा पहिले छिमेकीकै घर फोर्ने हुन, छिमेकीकै खल्तीबाट चोर्ने हुन । चोर नै भए पनि चोरले आफ्नै घर पहिले फोर्दैनन, त्यहि भएर तिमीहरुको छोराछोरी पढाउने नपढाउने भन्ने बिषयमा हामीले चासो लिनु परेको, छिमेकीले चिन्ता गर्नु
परेको ।
परेको ।
यो गाउँ भेलाले राम्रो काम त ग¥यो । तर खेल्न पल्केका बालबालिकालाई बिद्यालय ल्याउनका लागि समस्या भयो । बिद्यार्थीहरु सकेसम्म बिद्यालय नै नपुग्ने, पुगे पनि ढिलो पुग्ने हुन थाल्यो । बिद्यार्थी नै नभएपछि पढाई प्रभाबकारी हुने कुरै भएन । बनमाराको पातको चुंगी र पानीका पाईप काटेर बेरिङ बनाएर केटाकेटीले खेल्दा, पानीको समस्या पनि हुने भयो । यो देखेपछि रुपचन्द्रले जुक्ति लगाए । हेटौंडा, बीरगञ्जबाट साईकलका थोत्रा टायरहरु मगाए । जो बेरिङ गुडाएर सबैभन्दा पहिले बिद्यालय पुग्थ्यो, उसले साईकलको पांग्रा पुरस्कार पाउँथे । मकवानपुरको घर्तिखोला, डाँडागाउँबाट बिद्यालय घट्टेचौर कम उचाईमा पथ्र्यो, पांग्रा तीब्र गतिमा गुड्थ्यो, त्यसलाई पछ्याउँदै बिद्यार्थीहरु दौडन्थे र समयभन्दा अगाबै बिद्यालय पुग्थे । थोत्रा पांग्राले बिद्यार्थीहरुलाई समयमै स्कूल पु¥यायो । घरघरमा पानी लगेका पाईपहरु पनि काटिन छाडे ।
अब बिद्यार्थीको समस्या ट¥यो, बिद्यालय भबन बनाउनु पर्ने भयो, त्यसको पनि उपाय गजब्ब नै लगाए बिष्टले । अभिभाबकले श्रमदान गर्ने, बिद्यार्थीहरुले पनि बिद्यालय जाने समयमा सक्ने एउटा एउटा ढुंगा बोकेर जाने । यसरी सबै लागेर काम गर्दा बिद्यालय भबन बन्न पनि समय लागेन । जोसंग जे छ, त्यही सीप दिए । रुपचन्द्र बिष्ट आफैं पनि ढुंगा बोक्थे, चक, डष्टर समाएर कक्षा सम्हाल्थे । यसरी बिद्यालयको जग बन्यो, घर बन्यो । अब फेरि अर्को समस्या थपियो । शिक्षकको । यसको पनि रुपचन्द्रले जुक्ति लगाए, ठूला कक्षामा पढ्नेले सानो कक्षालाई पढाउने । दिउँसो बिद्यालय पढ्नेले साँझ बिहान घरमा आमा दिदीबहिनीलाई पढाउने । यसरी शैक्षिक अभ्यास शुरु भयो । महिला शिक्षाको जग बस्यो ।
शिक्षाबाटै हो थाहा आन्दोलनलाई बलियो बनाउन सक्ने भन्ने बिष्टको ठहर भयो, गरे पनि त्यसै । जान्ने, बुझ्ने(थाहा पाउने । शिक्षासंगसंगैै राजनीतिक ज्ञान पनि बढाउनु पर्छ भन्ने रुपचन्द्रको योजना थियो । झुत्रे झाम्रेलाई, छाप्रेहरुलाई जगाउन गाउँगाउँमा अभियान चलाउनु पथ्र्यो । गाउँगाउँमा भेलाहरु गरिए । जहिले पनि पुरुषमात्रै भेला हुने महिलाको उपस्थिति जहिले पनि कम हुने । यसको अन्त्यको लागि छोराछोरीसहित बाबुआमा दुबैलाई भेलामा उपस्थित हुन आग्रह गर्थे, अब अभियान बाक्लिंदै गएको थियो । बालबालिकाले झुटो बोल्दैनन भनेर बालबालिकाहरुबाट कुरा बुझ्ने बिष्टको योजना बन्यो । अभिभाबकलाई संगै राखेर । उपस्थित बालबालिकालाई पालै पालो सोधियो ।
तिम्रो घरमा सबैभन्दा पहिले को
उठ्छ ?
आमा ।
ढिलो को सुत्छ ?
आमा ।
काम कसले बढि गर्छ ?
आमा ।
पहिले खाना कस्ले खान्छ ?
बाले ।
दिनभरी बजार को डुल्छ ?
बा ।
घरमा पालिएका बाख्रा, खसी
कुखुराको पैसा कसले लिन्छ ?
बाबा ।
बालबालिकाले साँचो नै बोलिरहेका थिए । यो सुनेर बाहरुको मुहार चाउँरिदै गइरहेको थियो, मुरमुर्रिरहेका थिए । दुःख गर्ने महिला हुन्थे, स्वामित्व लिने पुरुष । सम्पत्तिमा पुरुषको अधिकार, महिलाको अवस्था जम्माजम्मी घरमा काम गर्न
राखिए जस्तो । यसको अन्त्यको लागि भनेर रुपचन्द्रले २० को दशकमै समान सहभागीताको कुरा गरे । प्रतिनिधित्वको कुरा भयो । रुपचन्द्र बिष्टले थाहा आन्दोलनको प्रर्बद्र्धनका लागि थुप्रै नारा, गीत, कविता, टुक्का मन्त्र पनि बनाएका थिए । २०३९ सालमा स्थानीय निर्बाचनको लागि प्रचारको लागि बनाएको एउटा कवितांस हेरौं –
को दोषी ?
केटाकेटी बिग्रे बाबुआमा दोषी,
जनता बिग्रे सरकार दोषी,
ब्यबस्गा बिग्रे अगुवा दोषी
अनि यथार्थमुखी कर्तब्यमुखी बाहेक
पछुवा, भगुवा सारा दोषी ।
जात ठूलो कि जनता ?
नाता ठूलो कि न्याय ? पञ्चायती ब्यबस्था यस्तै छ भनेर बाख्रा गोठालो चितुवा, शीर्षकमा २०३९ सालमै तयार पारेको अर्को कविता ।
पैसाबाट सत्यता,
पदबाट ईन्साफ,
जातबाट जनहित,
शोषकबाट विकास,
विदेशीबाट राष्टिूयता,
रन्डीबाट इमान,
गुण्डाबाट राजनीति,
शासकबाट प्रजातन्त्र,
पाईन्छन भन्नेले
लगाएछन चितुवालाई
बाख्राको गोठालो ।
यी दुई कवितांसको ब्याख्या जरुरी छैन । अपबादलाई छाडेर जो जहाँ छन, उनीहरुले त्यसलाई ब्यबहारमा
उतारिरहेका छन ।
रुपचन्द्रको ज्ञान, क्षमता, दर्शनमा आपत्ति जनाउन नसकेपछि । बानीबेहोरालाई लिएर बिभिन्न किसिमका आलोचना भयो । सन्की, घमण्डी, बौलाहा के के नाम दिए, भनिसाध्य छैन । जसले जे जे भने पनि बिष्टले अभियान छाडेनन । सबैले थाहा पाउनु पर्छ भन्ने कुरा स्थापित गरेरै छाडे । यसको लागि शिक्षाको लागि भनेर स्थानीय स्तरमै करको अभ्यास गरियो । संयुक्त बिकास समितिको नामम तत्कालिन पालुङ दामन गाबिसको संयुक्त अभ्यासमा । अहिले दामन, पालुङ र बज्रबाराही समेटिएर थाहा नगरपालिका भएको छ । अहिले पनि तरकारीबाट निकासी कर लिएर शिक्षा, स्वास्थ्य र विकासको काममा खर्च गर्ने गरिएको छ । यसको शुरुवात जून उद्देश्यको लागि भएको थियो, त्यही भईरहेको छ भनेर भन्न त सकिन्न । तर बिकासका लागि भनेर आफैंले स्रोत खोज्न सकिन्छ भन्ने एउटा नमूना बनेको छ । यसको अनुसरण अन्यन्त्र पनि भएको छ ।
रुपचन्द्र बिष्टलाई थाहा आन्दोलनको प्रणेता भनिए पनि । राजनीतिक, आर्थिक, बिकास र सामाजिक सुधारको अभियन्ता भन्न सकिन्छ । थाहा आन्दोलनको प्रभाब हो, राष्टिूय सूचना आयोगको स्थापना । राष्टिूय थाहा दिबस । १९९० साल पुस २६ गते मकवानपुर दामनको घर्तिखोलामा जन्मिएका दार्शनिक, एउटा सिद्धान्तको स्थापक रुपचन्द्र बिष्टले आजभन्दा १७ बर्ष अघि २०५६ साल असार ७ गते नश्वर शरीर त्याग गरे । उनकै सम्झनामा यही हो शब्दश्रद्धाञ्जली ।
प्रदेश दैनिक पत्रिकामा मिति २०७३ असार ७ गते प्रकाशित

