Header Ads


सूचनाको हक कार्यान्वयनमा सबै एकजुट हुनुपर्ने

हेटौँडा, ६ असार/सूचनाको हकको कार्यान्वयन प्रभावकारी ढंगबाट नभएको गुनासो आइरहेको समयमा हेटौँडामा भएको एक कार्यक्रमका सहभागीले हक कार्यान्वयनका लागि सबैपक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको छ । 
हेटौंडामा सोमबार भएको सूचनाको हक कार्यान्वयन सम्बन्धी सरकारी कार्यालयका सूचना अधिकारी, सूचनाको हकको अभियन्ता र पत्रकारहरुबीच भएको अन्तरक्रियाका वक्ताहरुले हककार्यान्वयनका लागि सूचना लिने र दिने दुवैपक्ष मिलेर अभियानलाई सार्थक रुपमा लैजानुपर्ने बताएका हुन् । सूचना माग्ने र दिने दुवै पक्ष जिम्मेवार भएर आउनुपर्नेमा सहभागीमा एकमत देखिएको थियो । कार्यक्रममा सहभागी सूचनाको हकका अभियन्ता एवम् पत्रकारहरुले सरकारी निकायले तीन÷तीन महिनामा नियमित सार्वजनिक गर्नुपर्ने २० प्रकारका सूचनाहरु समेत सार्वजनिक नगरेको, सूचना लिन आउँदा भएको व्यवहार राम्रो नभएको, मागे बमोजिमको सूचना नदिएको, झुलाउने काम गरेको, मागेको भन्दा अत्याधिक दिएर राजश्व तिर्न लगाएकोलगायतको गुनासो गरे । सूचना अधिकारीहरुले सूचना सहज रुपमा दिनुपर्नेमा पत्रकारहरुले जोड दिएका छन् । त्यस्तै सरकारी कार्यालयका सूचना अधिकारीहरुले सूचना माग्न आउनेको व्यवहार सभ्य हुनुपर्ने, सूचना माग गर्ने विषयबस्तुको बारेमा माग्ने व्यक्ति स्पष्ट भएर आउनुपर्ने, कार्यालय प्रमुखहरुलाई पनि सूचनाको हकका बारेमा जानकारी गराईनुपर्ने, सूचना अधिकारीको छुट्टै कार्यकक्ष हुनुपर्ने, सम्मान, प्रोत्साहन सँगै अध्ययन अवलोकन भ्रमणमा पठाईनुपर्ने धारणा राखे । 
उनीहरुले धेरैले बजेटको बारेमा मात्रै चासो राखेको गुनासो पनि गरे । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचनाको हक कार्यान्वयन अनुगमन समितिका संयोजक हरिप्रसाद पन्तले गोपनियता कायम राखे वापत अझै पनि कार्य सम्पादन मुल्यांकनमा नम्बर थपिने चलनको अन्त्य नभएकोले सूचना गोप्य राख्न खोज्ने प्रवृत्ति कायमै रहेको स्वीकारे । अभिलेख प्रणाली वैज्ञानिक नभएको, प्राविधिक समस्या, कर्मचारीको अभाव जस्ता विविध समस्याले भनेको जस्तो सूचना छिट्टै दिन नसकिएको स्वीकार गरे । सरकारी निकायको मात्रै नभएर गैरसरकारी क्षेत्रमा समेत सूचना माग्ने परिपाटिको विकास हुनुपर्ने बताए । सूचना माग गर्ने र दिने दुवै पक्षसँग सबल, दुर्बल पक्ष र विकृति विसंगति देखिएको बताउँदै उनले कमीकमजोरीलाई हटाउँदै मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए । हेटौंडा उपमहानगरपालिका कार्यालयका सूचना अधिकारी शंकर प्रसाद उपाध्यायले नगरपालिकाले सूचनाको हकलाई बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिएको बताए । युरोपियन युनियन र संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) सँगको सहकार्यमा सूचनाको हकका लागि नागरिक अभियानले आयोजना गरेको अन्र्तक्रियामा सूचनाका हकका लागि नागरिक अभियानका अध्यक्ष तारानाथ दहालले अब देशमा नागरिकले सुशासन नै खोज्ने भएकोले परिवर्तित परिस्थितिमा आपसी सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । यस्तै सूचनाको हकका लागि नागरिक अभियानका निर्देशक टंक अर्यालले दुवै पक्षको सहभागिताले मात्रै सूचनाको आदान प्रदान सहज हुने बताए । अन्तरक्रियामा रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर जिल्लाका अभियन्ता, पत्रकार, सरकारी कार्यालयका सूचना अधिकारीहरु लगायत सहभागी थिए ।
Powered by Blogger.