प्राविधिक शिक्षा, टिकाउ र विकाउ
अहिले संसार भरिनै प्रविधिको क्षेत्रमा अकल्पनीय विकास भएको छ । मानविय आवश्यकताका लाखौं बस्तु र सेवाहरुका लागि प्रविधिले ठूलो टेवा पु¥याउदै आएको छ । प्रविधिकै विकासका कारण विभिन्न राष्ट्रहरु महाशक्तिराष्ट्रमा परिणत हुँदैछन् । वर्तमान् परिप्रेक्षमा प्रविधिको विकासलाई समृद्धीको आधार भन्दा खासै फरक पर्दैन् ।
नेपालको हकमा भने समय सापेक्ष प्रविधिको विकास हुन नसक्दा गरिब, बेरोजगारीलगायतका समस्या थपिदै गएको छ । राज्यले पनि प्राविधिक शिक्षाको क्षेत्रमा आवश्यकता अनुरुप लगानी बढाउन नसक्दा थोरै प्राविधिक जनशक्तिबाट नै उद्योगधन्दाहरु चलाउनु परेको छ । यिनै समस्याहरुलाई ध्यानमा राखेर हाल सरकारले दाताहरुको सहयोगबाटै भएपनि देशका विभिन्न स्थानमा प्राविधिक शिक्षालय स्थापनामा पहलकदमी शुरु गरेको छ । हेटौंडाको चित्रेपानीमा निर्माण हुन लागेको नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालय पनि यसको एक उदाहरण हो । यसका लागि दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी ग्लोबल टेण्डर आव्हान भएको छ । भारत सरकारको सहयोगमा शिक्षा मन्त्रालय अन्तर्गत्को प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मातहत रहने गरी करिब ६१ करोड ६४ लाख रुपियाँमा निर्माण सम्पन्न हुने गरी भारतीय राजदुतावासले ग्लोबल टेण्डर आव्हान गरेको कुरा सार्वजनिक गरिएको छ । महाविद्यालय स्थापना भएपछि हेटौंडा, बुटवल, बालाजु, विराटनगरलगायतका देशका ठूलो औद्योगिक क्षेत्रहरुले आवश्यकता अनुसार प्राविधिक जनशक्ति सहजै उपलब्ध गर्नसक्ने कुरामा सबै विश्वस्त रहेका छन् ।
हालको प्रतिष्पर्धात्मक समयमा प्राविधिक शिक्षा टिकाउ र बिकाउ भएकाले विद्यालय निर्माण पश्चात् तुलनात्मक रुपमा मकवानपुरे विद्यार्थीहरुले धेरैभन्दा धेरै फाइदा लिन सक्नेमा विश्वस्त रहन सकिन्छ । तर, महाविद्यालय तोकिएको समयसिमा भित्रै स्थापनामा आईपर्ने समस्याका विषयमा यहाँका दलहरुले बेलैमा सुझबुझका साथ अगाडि बढ्नुपर्नेमा सचेत रहनु आवश्यक ठहर्छ ।
