मन्त्रालयको निर्णय लत्याउँदै खोलामा स्काभेटर
हेटौँडा, ७ असार/संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १ गतेदेखि तीन महिनाको लागि नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा रोक लगाएको छ ।
मकवानपुरमा सुरक्षा समितिको बैठकले समेत असार, साउन र भदौ तीन महिना नदीजन्य पदार्थ उत्खनन्को लागि खोला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । तर यी सबै निर्णयलाई लात हान्दै मकवानपुरको आमभञ्ज्याङ–३ ज्यामिरे खोलाबाट धमाधम ढुङ्गा, गिट्टी र वालुवा उत्खनन् गरिरहेको पाइएको छ ।
मङ्गलबार बिहान ज्यामिरेखोलामा तीनवटा एक्साभेटरले जथाभावी रुपमा खोला उत्खनन् गरिरहेको पाइएको हो । मकवानपुरको प्रशासन, जिल्ला विकाश समितिका कर्मचारी र आमभञ्ज्याङका केही राजनीतिक दलको नेताको आडमा खोला खन्ने काम भैरहेको एक स्थानीयले आरोप लगाए । यसअघि सामरीखोला र बुङदलखोलबाट उत्खनन् गरेको भएपनि स्थानीयको बिरोधपश्चात अहिले बजारबाट अलि टाढा रहेको ज्यामिरे खोलामा उत्खनन्को काम भैरहेको ति स्थानीयको भनाई छ ।
खोलाबाट ढुङ्गा, गिट्टी र वालुवा झिकेको भन्दै ट्याक्टर चालकलाई पक्राउ गरिएको भएपनि ठूला मेसिन प्रयोग गरेर खोला खनिरहँदा समेत प्रहरी प्रशासनले देखे नदेखेको झैँ गरेको ट्याक्टर चालकहरुको गुनासो
छ । मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले खोला उत्खनन् गर्ने उद्देश्यका साथ यो तीन महिना ट्याक्टर, स्काभेटर, टिपर, मान्छे कोही पनि खोलामा पस्न नपाउने निर्णय भएको बताइन् ।
छ । मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले खोला उत्खनन् गर्ने उद्देश्यका साथ यो तीन महिना ट्याक्टर, स्काभेटर, टिपर, मान्छे कोही पनि खोलामा पस्न नपाउने निर्णय भएको बताइन् ।
‘हामीलाई स्थानीय विकास मन्त्रालयबाट पनि यहि आदेश छ । सोमबार भएको सुरक्षा समितिको बैठकले पनि यहि निर्णय गरेको छ’, चौधरीले भनिन्, ‘मंगलबार नै हामीले मनहरीबाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिएका छौँ । आमभञ्ज्याङमा खोला खनिरहेको भन्ने जानकारी आएकोले त्यहाँ प्रहरी पठाएका छौँ ।’
यस्तै मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाले संघीय मामिला तथा स्थानीय मन्त्रालयको परिपत्र बमोजिम ३ महिनाको लागि खोलाबाट सामग्री उत्खनन र उठाउन नमिल्ने पत्र आएको र सो पत्रको बिषयमा प्रशासनमा समेत जानकारी गराएको बताए । ‘प्रशासनमा पनि मन्त्रालयबाट आएको चिट्ठी पठाइदिएको छु’, उनले भने, ‘आमभञ्ज्याङमा निर्माणाधिन वासुदेव मार्गको लागि सामान चाहियो भन्दै सोमबार निवेदन आएको थियो । मैले अहिले कुनै हालतमा मिल्दैन भनेर पठाएको छु ।’
मंगलबार खोलाबाट नदीजन्य पदार्थ निकालेको जानकारी आएको बताउँदै उनले नियम उल्लंघन गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याइने बताए । डिभीजन सडक कार्यालय हेटौडा मार्फत ठेक्का पाएको द कन्चनजंङगा मोतिदान जेभीका निर्देशक विकास गौतमले जिविसले अनुमति नदिएपनि गाउँलेलाई मिलाएर काम गरिरहेको बताए । तीन करोड १८ लाखको बजेटमा वासुदेव मार्ग फराकिलो बनाउनुका साथै बाटो मर्मतको काम भैरहेको हो ।
खोला उत्खनन् नगर्ने प्रतिबद्वता
हेटौँडा/बाटो निर्माणको लागि भन्दै खोलाबाट ढुङ्गा, गिट्टी, वालुवालगायतका पदार्थ उत्खनन् र ओसारपसार गर्दै आएको ठेकेदार कम्पनीले अब देखि खोलामा मेसिन नहाल्ने प्रबिद्वता जनाएको छ ।
सामरीको ज्यामिरेखोलामा स्काभेटर र टिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गरेको जानकारी पाएपश्चात सामरी पुगेको प्रहरीले ठेकेदार कम्पनी द कन्चनजंङगा मोतिदान जेभीका निर्देशक विकास गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको थियो । उनले अबदेखि खोलामा नदीजन्य पदार्थ उत्खनन्को लागि कुनै पनि मेसिन नहाल्ने र त्यहाँबाट सबै उपकरण फिर्ता ल्याउने लिखित प्रतिबद्वता व्यक्त गरेपछि छोडिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन् ।

