क्रान्तिकारी यातायात मजदुरद्वारा विभिन्न माग प्रस्तुत
हेटौँडा, १२ असार/मोहन बैद्य नेतृत्वको माओवादी निकटको अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ मकवानपुरले संसद्मा मस्यौदा पेश भई विचाराधिन अवस्थामा रहेको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनमा समेटनका लागि भन्दै आफ्ना मागहरु प्रश्तुत गरेको छ ।
क्रान्तिकारी यातायात मजदुर महासंघका केन्द्रीय अध्यक्ष रामशरण कार्की र संघ जिल्ला अध्यक्ष शिवप्रसाद पौडेलले मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्मालाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेपालको कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने सम्बन्धमा बनेको विधेयकमा नेपालभरका यातायात व्यवसायी तथा मजदुरहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै आफूहरुको मागलाई समेटन गर्न आग्रह गरेका हुन् । संघले सवारी चालकको कुनै गल्ती नभइ विभिन्न कारण दुर्घटना हुन गएमा निर्दोष सवारी चालक र सवारी धनीलाई कुनै सजायको प्रावधानको व्यवस्था नगर्न आग्रह गरेको छ ।
‘जसको जति गल्ती उसलाई उती सजाय, छैन गल्ती छैन सजायको न्यायपूर्ण परिपाटी र कानुन बनोस्,’ संघले बुझाएको ज्ञापनत्रपमा उल्लेख गरिएको छ, ‘मृतक वा घाइतेको कारणबाट भएको दुर्घटनमा चालक र सवारीधनीलाई कुनै सजाय हुन भएन ।’ जिल्ला अध्यक्ष पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा साँघुरा खाल्डाखुल्डी र जीर्ण सडकहरुको छिटो मर्मत सम्भार र स्तरोन्नती तथा चालकहरुलाई आवश्यक प्रशिक्षण, प्राविधिक ज्ञान, शिक्षा र दक्षता अनुसार चालक अनुमतिपत्र प्रदान गर्ने प्रावधान कानुनमै व्यवस्था गर्न माग गरिएको छ । चालक अनुमतिपत्र दिने सम्बन्धित निकाय भ्रष्टाचार रहित र सहज ढंगबाट नियमितरुपमा चालक अनुमति पत्र प्राप्त गर्न सक्ने व्यवस्था लागूगर्न आग्रह गरिएको विज्ञप्तीमा राजमार्ग, सार्वजनिक सडक सम्बन्धी कडा कानुन ल्याएर अनुशासन कायम गर्न माग गरिएको छ ।
राजमार्ग र सडक छेउमा मदिरा खरिद बिक्री रोक्नुपर्ने, मदिरा सेवन गरी सवारी चलाउन रोक्नुपर्ने र सडकमा सुत्ने जस्ता लापरबाही रोक्नुपर्ने, यातायात क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने तथा छानविनका क्रममा अनावश्यक हैरानी दिने, निर्दोषलाई फसाउने, आर्थिक अनियमितता भ्रष्टाचार हुने जस्ता कार्य तत्काल रोक्न सक्ने कानुनको माग गरिएको छ ।
विरोध ¥यालीसहित बजारपरिक्रमा गर्दै जिल्ला प्रशासन पुगेको टोलीले पुनः बजार परिक्रमा गरी कोणसभा गरेको थियो । कोणसभामा केन्द्रीय अध्यक्ष कार्की र जिल्ला अध्यक्ष पौडेलले सम्बोधन गरेको जिल्ला सचिव सरोज देवकोटाले जानकारी दिए ।
