आश्रमलाई खाद्यान्न व्यवसायीको सहयोग
हेटौँडा, ७ असार/सर्वोत्कृष्ठ जीवन शाश्वत चिन्तन साँचो जीवन निर्माण अभियानद्वारा सञ्चालित मानवसेवा आश्रमलाई खाद्यान्न व्यवसायी संघ मकवानपुरले विभिन्न सामग्री सहयोग गरेको छ ।
नेपालका विभिन्न जिल्लाका युवाहरुको उपस्थितीमा मानवसेवा आश्रमले ज्ञान हस्तान्तरण कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा खाद्यान्नको अभाव भएको खबर पाएपश्चात आवश्यक खाद्यान्न सहयोग गरिएको बताइएको छ । मंगलबार आश्रममा एक कार्यक्रमका बीच ७ बोरा चामल, एकबोरा आलु, एक बोरा प्याज, एकपेटी तेल तथा दाल र चिनी सहयोग गरेको खाद्यान्न व्यवसायी संघका महासचिव दिवस पराजुलीले जानकारी दिए । आश्रमका संयोजक रामजी अधिकारीलाई खाद्यान्न व्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठ, महासचिव पराजुली, कार्यसमिति सदस्य प्रचण्ड प्रधान र कृष्ण मोक्तान, साधारण सदस्य निरन प्रधानलगायतले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
